झडप, मतपेटिका फोड्ने, कर्मचारी कुट्ने भएपछि आयोगले पोख्यो दलहरुसँग असन्तुष्टि

काठमाडौँ । स्थानीय तहको निर्वाचनको ४० प्रतिशत मत खसे पनि दलहरूबाट सहयोग नपाएको भन्दै निर्वाचन आयोग राजनीतिक दलहरूसँग असन्तुष्ट बनेको छ। आयोग सबैभन्दा बढी गृहमन्त्री बालकृष्ण खाँणसँग असन्तुष्ट भएको स्रोतले जनाएको छ।

शुक्रबार बिहान शान्तिपूर्ण सुरु भएको मतदान दिउँसोतिर केही स्थानमा दलहरुबीचकै विवादका कारण अवरुद्ध भएको छ। सरकारबाट पर्याप्त सहयोग नपाएको भन्दै आयोगले असन्तुष्टि जनाएको हो।

‘राजनीतिक दलहरुबाटै गर्दा चुनावको वातावरण बिथोल्ने प्रयास भयो,’ स्रोतले भन्यो, ‘गृहमन्त्रालयले पनि सुरक्षा दिन सकेको देखिएन।’ मतपेटिका जोगाउन सुरक्षा नदिएको र मतदान अधिकृतमाथि हातपात भएको भन्दै आयोग रुष्ट बनेको हो। निर्वाचनका लागि निर्धारण गरिएको समय सकिन अब एक घण्टामात्र बाँकी छ।

काभ्रेमा दलहरूका प्रतिनिधिले मतदान अधिकृतसँग खोसेर मतपेटिका नै फुटाएका छन्। तनहुँको ब्यासमा पनि मतपत्र च्यातिएको छ। अहिलेसम्म मतदान अधिकृत नै कुटिएपछि सप्तरीको डाक्नेश्वरी २ मा मतदान स्थगित गरेर जेठ १ गतेका लागि गर्ने निर्णय भएको छ।

७ सय ५३ स्थानीय तहमध्ये केही तहमा विवादले स्थगित भएपनि सर्वदलीय बैठक राखेर निर्वाचन सुचारु गराउने प्रयास भइरहेको छ। केही स्थानीय तहमा भीषण हावा, हुरीसहित पानी परेको छ। सुर्खेत र दाङमा हावाहुरीको कारण मतदान प्रक्रिया नै रोकिएको छ।

Loading...