गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि नेपाल आर्मीलाइ (फोटोहरु)

काठमाडौँ, ११ वैशाख । नेपाल आर्मीले पुरुष/महिला दुवैमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको उपाधि  जितेको छ ।

पुरुषमा आर्मी पाँच स्वर्ण र दुई रजतसाथ च्याम्पियन बन्यो भने महिलामा तीन स्वर्ण र दुई रजत हात पार्दै च्याम्पियन बनेको छ  ।

काठमाडौँ दरवार क्षेत्र बसन्तपुर गद्दी बैठक अगाडी वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित अन्तिम दिन शनिबार प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपीएफ क्लबकी सरस्वती राणा उत्कृष्ट खेलाडी घोषित भए । इन्द्रले ५७ केजी फाइनलमा एपीएफका उपाधि दाबेदार एपीएफका पूरन राईलाई पराजित गरे ।

नेपाल प्रहरीका शम्भु राजवंशी र गण्डकी प्रदेशका सौगात कुमाल तेश्रो भए । सरस्वतीले ७५ केजीमा फाइनलमा आर्मीकी निरु गुरुङलाई हराउनुभयो । इन्द्रले टीभीएस मोटरसाइकल तथा सरस्वतीले टीभीएसकै स्कुटर पुरस्कार प्राप्त गर्नुभयो ।

 प्रतियोगिताको पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले फाइनलमा एपीएफका प्रदीप महर्जनलाई पाखा लगाउदै पहिलो स्थान हात पारे । प्रहरीका चन्द्रबहादुर थापा र मधेश प्रदेशका मदनकृष्ण डंगोल तेश्रो बने । 

पुरुष ६३ केजीमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी प्रहरीका भूपेन्द्र थापामगरले फाइनलमा आर्मीका पूरन सुनुवारलाई  हराउनुभयो ।

पुरुष ६९ केजीमा फाईनलमा १३औं सागका स्वर्ण विजेता प्रहरीका सनिल शाहीले आर्मीका दानबहादुर दर्लामीलाइ हराई जित निकाल्नुभयो ।

 

 पुरुष ७५ केजीमा आर्मीका दीपेश लामा पहिलो हुनुभयो । 

पुरुष ८१ केजीमा आर्मीका दिपक श्रेष्ठले फाइनलमा सुदूरपश्चिमका श्यामबहादुर महताको चुनौती समाप्त पार्दै च्याम्पियन बन्नुभयो ।

पुरुष ९१ केजीमा आर्मीका गणेश प्रधानले स्वर्ण जित्नुभयो । । फाइनल भिडन्तमा उहाँले एपिएफका रविन नेपाललाई पन्छाउनुभयो । 

महिला ५१ केजीमा आर्मीकी मीनु गुरुङले शीर्ष स्थान कब्जा गर्नुभयो । सागकी स्वर्णधारी मीनुले फाइनलमा प्रहरीकी दिवाना शेर्मालाई पराजित गर्नुभयो । महिला ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले फाइनलमा प्रहरीकी निशा तामाङलाई हराउँदै स्वर्ण जित्नुभयो ।

महिला ६० केजीमा आर्मीकी संगीता सुनारले एपिएफकी संगीता डंगाललाई पाखा लगाउदै स्वर्ण हात पार्नुभयो ।

६९ केजीमा आर्मीकी पुनम रावलले एपिएफकी विनिता थापामगरलाई हराउँदै स्वर्ण जित्नुभयो ।

पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः २५ हजार, १५ हजार र ७५ सय रुपियाँ पुरस्कार प्रदान गरियो । विजेतालाई नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

पाँचदिने प्रतियोगिताको पुरुषमा सात र महिलामा पाँच गरी १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । 

 

Loading...