कांग्रेसलाई उम्मेदवार टुङ्गो लगाउन सकस, तालमेलको निर्णय भएको ठाउँमा विवाद कायमै

बैशाख ११, काठमाण्डौ –नेपाली कांग्रेसलाई महानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन सकस भएको छ ।
एकातिर गठबन्धनको निर्णयअनुसार आफ्नो भागमा परेको मेयर र उपमेयर टुङ्गो लगाउन समस्या छ भने अर्कोतिर अरु दलको भागमा परेको ठाउँमा स्थानीय कार्यकर्ताको विरोध कायमै छ ।

काठमाण्डौको मेयरका उम्मेदवार सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णय हुन बाँकी छ । विराटनगर महानगरपालिकाको मेयर उम्मेदवारमा कुरा नमिलेपछि शनिवार राति अबेरसम्म बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेष कोइरालालाई टिकट दिने भन्नेमा विवाद छ ।

यसैगरी भरतपुर महानगरपालिकाको उपमेयर चित्रसेन अधिकारीलाई दिने कि सूर्यकान्त घिमिरेलाई भन्नेमा विवाद छ ।

पोखराको उपमेयरमा पनि कोपिला रानाभाट र सुरेन्द्र बिजुक्छेको कसलाई दिने भन्नेमा सहमति जुटेको छैन । ललितपुरमा पनि चिरिबाबु महर्जनलाई नै दोहोर्याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा टुङ्गो लाग्न बाँकी छ ।

गठबन्धनको निर्णयअनुसार भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिकाको उपमेयर कांग्रेसको भागमा परेको छ । तर त्यहाँ मेयर अर्को पार्टीलाई दिएको भन्दै कांग्रेसका स्थानीय नेता कार्यकर्ताको असन्तुष्टि उस्तै छ ।

गठबन्धनबाट कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका मेयर तथा जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा उपमेयर पाएको छ ।

Loading...