सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं ।
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन चार दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनका शीर्ष नेता टिकट बाँडफाँट र तालमेललाई अन्तिम रूप दिन आज बुधबार पनि छलफलमा बस्दैछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने बस्ने बैठक ११ बजेबाट सुरु हुने बताइएको छ । मंगलबार महानगरको भागबण्डा मिलाएको गठबन्धन बैठकले बुधबार उपमहानगरपालिकाको टुङ्गो लगाउने बताइएको छ ।

पार्टीको स्थानीय स्तरमा देखिएको तीव्र असन्तुष्टिका बीच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर र कास्कीको पोखरा महानगर क्रमशः माओवादी र नेकपा एकीकृत समावादीलाई दिने सहमति गर्नुभएको छ । तर, ती स्थानीय तहमा त्यहाँका कांग्रेस नेताको विरोध यथावत छ ।

कांग्रेसले वीरगञ्ज महानगरपालिका पनि जनता समाजवादी पार्टीलाई छाडेको छ । नेपालगञ्ज र जनकपुर बाहेकका ९ उपमहानगरपालिकामा पनि टिकट बाँडफाँटमा सहमति जुटिसकेको नेताहरुले बताएका छन् ।

तालमेलको बिरोध गरिरहेका पार्टीका नेतालाई भने देउवाले गठबन्धनको नेतृत्वकर्ता भएकाले नेपाली कांग्रेसले फराकिलो छाती बनाउनु पर्ने बताउँदै आउनुभएको छ ।

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

Loading...