वीपी राजमार्गको सिन्धुली खण्ड बन्द

बैशाख ४, काठमाण्डौ –
पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएपछि आफन्तले वीपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरेका छन् । कमलामाई नगरपालिका–५ मिलनचोक बस्दै आएका फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय शृयास भुजेलको ग्वाङखोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो ।

मृतकका आफन्तले आज बिहानैदेखि राजमार्गको कमलामाई नगरपालिका–४ ढुङ्गेबासमा सडक बन्द गरेका हुन् ।

बन्द सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका–४ र ६ जोड्ने ग्वाङखोलामा पक्की पुल निर्माणको लागि खनिएको खाल्डोमा जमेको पानीमा डुब्दा शृयासको ज्यान गएको र दोषीलाई कारबाही गर्नुपर्ने तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ । पीडित पक्षले बालकको शव बुझेका छैनन् ।

शृयास जनता आवासीय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए।

Loading...