स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

चैत ३०, काठमाडौं -नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर)लाई स्पष्टीकरण सोध्ने भएको छ।

समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार स्वीकृत नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गर्न नपाइने व्यवस्था छ। स्वीकृति नलिई प्रकाशन भएमा कारबाही गरिने सूचना समितिले पात्रोमार्फत प्रकाशन गरेको छ।

समितिको स्वीकृति नलिई यस वर्ष तीन पात्रो प्रकाशन भएका छन्। नेपाल, मुक्तिनाथ र ज्वाला पञ्चाङ्ग समितिको स्वीकृति नलिई प्रकाशन भएका हुन्। यसैगरी हालसम्म नौ भित्तेपात्रो समितिको स्वीकृति नलिई प्रकाशन भएको पाइएको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले बताए।

Loading...