रुस युक्रेन युद्ध रोकिने सम्भावना ,दुई पक्षबीचको वार्ता सकारात्मक मोडतर्फ

  चैत्र १५, एजेन्सी । रुस र युक्रेनबीच एक महिना देखि चलेको युद्ध रोकिने सम्भावना बढेको छ । आज टर्कीमा भएको दुई पक्षबीचको वार्ता सकारात्मक मोडतर्फ बढेको जनाइएको छ ।

टर्कीको इस्तानबुलमा भएको रुस–युक्रेन शान्ति वार्ताको नयाँ चरणपछि रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले किएभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय गरेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । फोमिनले रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्नका लागि सैन्य गतिविधि घटाउने निर्णय गरेको बताउनुभयो ।

वार्तापछि रुसी पक्षले सकारात्मक संकेतहरु मिलेको प्रतिक्रिया दिएको छ । लगत्तै रुसले युक्रेनी राजधानी किभमा सैन्य फौजको सक्रियता घटाउने निर्णय गरेको छ । यसअघि नै रुसले किभभन्दा अन्यत्र सक्रियता बढाउने निर्णय लिएको थियो ।

यसैबीच रुस र युक्रेनबीचको वार्तामा स्पष्ट प्रगति देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले घटेको छ । दुइ देश बीच बिग्रिएको सम्बन्ध सुधार  उन्मुख भए संगै अमेरिकी डलरको तुलनामा निकै कमजोर भएको रुसी मुद्रा रुबलको अवस्था १० प्रतिशतले सुध्रिएको छ ।

यसैगरी, रुस र युक्रेनबीचको युद्ध रोकिने सम्भावना बढेपछि कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ । आज साँझ मूल्य घटेर सय डलर भन्दा केही बढी कायम भएको छ ।

 

फोटो श्रोत – एजेन्सी 

Loading...