चुनाव प्रचार प्रचारमा दलको झण्डा वा चुनाव चिह्न अंकित टोपी-टिसर्ट लगाउन नपाइने

आचारसंहितामा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नपाइने

चैत ३ ,काठमाडौं  – नजिकिदै गरेको  स्थानीय तहको निर्वाचनमा दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो / टोपी, टिसर्टलगायतको  प्रयोग गरि प्रचार प्रचार गर्न नपाउने भएका छन्। 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी तयार पारिएको आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो।

आचारसंहितामा यस्तो  भनिएको छ – 

 ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झण्डाअंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न हुँदैन।’

तर, उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा) को विवरण खुलाई वितरण गर्न बाधा नपर्ने उल्लेख गरिएको छ।
यसै गरि स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, कार्यक्रम गर्नु ७२ घण्टा अघि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्ने प्रावधान  आचारसंहितामा राखिएको छ ।
 
घरधनीको अनुमति नलिई कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोलमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नहुने संहितामा समेटिएको छ । निर्वाचन प्रचार प्रसारको काम पनि बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने हुन्छ । राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ संगठनले प्रयोग गर्ने सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाइने, निर्वाचन अधिकृतको अनुमति लिएर एक जना उम्मेदवारले बढीमा दुई वटासम्म चार पाङग्रे सवारी साधन र सवारी नचल्ने ठाउँमा चारवटा घोडा प्रयोग गर्न पाइने व्यवस्था गरेको छ ।