काठमाण्डौ उपत्यकाका सडक र मुख्य चोकमा फेरि थुप्रियो फोहर

फागुन २९, काठमाण्डौ –
ल्याण्डफिल्ड साइटको समस्याको कारण सात दिनदेखि फोहर उठाउन नसक्दा काठमाण्डौ उपत्यकाका सडक र चोकहरुमा फोहर थुप्रिएको छ । अहिले फोहर थुपार्दै आएको सिसडोलका स्थानीय बासिन्दाले फोहर लैजान अवरोध पुर्याउँदै आएका छन् ।

फोहरबाट उच्च प्रभावित बनेका बस्ती स्थानान्तरण गर्नुपर्ने, फोहर विसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहर विसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने माग गरेर फोहरका गाडी रोकेको प्रभावित क्षेत्र सरोकार समितिका सदस्य सनत उप्रेती  संयोजक श्रीरामले बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले नुवाकोटको सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरे पनि स्थानीय बासिन्दाले माग पूरा नभएसम्म अवरोध कायम राख्ने बताएका छन् ।

फोहर नउठाउँदा उपत्यकामा दुर्गन्ध बढिरहेको छ । गर्मी बढेको समयमा फोहरको दुर्गन्ध समेत बढेकाले सरुवा रोगको जोखिम बढेको छ ।