प्रहरी कुटपिटले युवाको ज्यान गएको आरोपमा असई धामी नियन्त्रणमा, घटनाको अनुसन्धान सुरु

फाइल फोटो 

सुर्खेत, २२ फागुन । कालीकोटको तिलागुफा नगरपालिका ३ का कृष्ण हमालको कुटपिटबाट ज्यान गएकाे आरोपमा प्रहरी सहायक निरीक्षक (असई) शेर सिंह धामीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकका बुबा हिराचन्द्र हमालले आज आइतवार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रहरी सहायक निरीक्षक (असई) शेर सिंह धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएर तीन दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको  हाे । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले असई धामीलाई पक्राउ गरेर अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

शुक्रवार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा वीरेन्द्रनगरकाे सुब्बाकुना प्रहरी चेकपोस्टमा असइ धामीले मापसे गरेको भन्दै मालवाहक ट्रक चालक/धनि  हमाललाई कुटपिट गरेको र कुटपिटका कारण ज्यान गएकाे आफन्तको आरोप छ । कुतपिटबाट घाइते भएका धामीलाइ उनकै सहचालकले आफ्नै गाडीमा सुताएका थिए ।  बेहोस भएपछी हमाललाई वीरेन्द्रनगरमा रहेकाे सुर्खेत अस्पतालमा उपचारका लागि लगिएकाे र अस्पतालले प्रशासनले अस्पताल आउनुअघि नै ज्यान गएकाे जानकारी दिएको थियो ।

असई धामी विरुद्ध दर्ता गरिएको जाहेरीमा प्रहरीको कुटाइबाट मृतक हमालको शरीरको संवेदनशील भागहरू– घाँटी, छाती र कोखा लगायतका विभिन्न भागमा चोटपटक लागेर ज्यान  गएकाे भन्दै असई धामीलाई कारबाही गर्न माग गरिएको छ ।

 जिल्ला प्रशासन कार्यालयले पनि घटनाको छानबिनका लागि समिति बनाएर काम सुरु गरिसकेको छ । 

हमालको मृत्यु भएपछि न्यायको माग गर्दै  पीडित परिवारले माइकिङ गर्दै बन्दको आह्वान गर्दा  आइतबार बिहानैदेखि बजार क्षेत्र , लामो तथा छोटो दुरीका यातायात ठप्प रहेका थिए   । 

Loading...