समुदायको कामलाई राज्यकातर्फबाट महानगरले साथ दिने, गुठीयारहरुसँग जग्गा भए महानगरले बनाइदिने  :मेयर शाक्य तथा उप-मेयर खड्गी

फागुन २१, काठमाडौं ।   काठमाडौँ महानगरका २५ वडा  स्थित श्रीघः, नघलमा रहेको धर्म किर्ति महाविहारको  पुननिर्माण सम्पन्न भएको छ  ।   मेयर विद्यासुन्दर शाक्य तथा उप -मेयर हरिप्रभा श्रेष्ठ खडगीले संयुक्त रुपमा आज उक्त पुनः निर्माण भएको महाविहार भवनको  उदघाटन गर्नुभयो । भवन पुननिर्माण गर्न २०७७ मंसिर २० गते मेयर शाक्यले शिलान्यास गर्नुभएको थियो । 


भवन उदघाटन कार्येक्रममा  मेयर शाक्यले सम्पदा संग जोडिएका बहाल, बही, सत्तल जस्ता गुठीले सञ्चालन गरेका सांस्कृतिक सम्पदा संरक्षण गर्न सरकार भएको महसुस गराउने प्रयास गरेको बताउनुभयो । गुठी परम्परालाई जीवन्त बनाउन समुदायको कामलाई राज्यकातर्फबाट महानगरले साथ दिने र यस्ता सांस्कृतिक सम्पदा पुननिर्माण गरेर सञ्चालन व्यवस्थापनका लागि महानगले गुठीलाई नै हस्तान्तरण गर्ने गरेको शाक्यको भनाइ थियो ।

 कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘सम्पदा संरक्षण गर्ने कुनै पनि योजना प्रस्तावका रुपमा आउँदा बैठकमा मतभेद हुँदेन । सर्वसम्मतले स्वीकृत गछौँ । वुद्ध दर्शनले हामीलाई विश्वभर चिनाएको छ । यो हाम्रो सम्भावना हो ।’
सम्पदाको निरन्तरताका लागि गुठीयारहरुसँग जग्गा भए काठमाडौँ महानगरपालिकाले भौतिक संरचना निर्माण गरिदिन्छ । योजना लिएर आउनोस् । उपमेयर खड्गी श्रेष्ठको भनाइ थियो ।
विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ हो । त्यसमध्ये पहिलो चरणमा करिब १ करोड लागतमा काम भएको थियो । यस चरणमा लागेको ९९ लाख ९९ हजार १६५ रुपैयाँमध्ये १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोरेको थियो । बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरको सहयोग हो ।
त्यसपछि गएको पुस १८ गते थप २ करोड १८ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको थियो ।
महानगरले २०७७ साउन महिनामा विहारको सभा कक्षलाई आवश्यक पर्ने ध्वनी र उज्यालो व्यवस्थापन गर्न ६८ थान सामान तथा उपकरण र १ रोल केबल प्रदान गरेको थियो । यसरी उपलब्ध गराइएका सामानमा साउण्ड मिस्क्चर, माइक, बेबी लाइट लगायत थिए ।