मतदाता नामावलीमा आजदेखि दाबी विरोध गर्न सकिने 

फागुन २०, काठमाडौँ  । स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि  निर्वाचन आयोगले दाबी विरोध आह्वान गरेको छ ।    स्थानीय निर्वाचनको तयारी सम्बन्धमा जानकारी गराउन  आयोगले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्येक्रममा  नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत  सात दिनको समयसीमा तोकेको जानकारी दिएको हो  ।   अद्यावधिक कार्यक्रमअन्र्तगत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाउनेछन् ।

आयोगले मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने कार्यक्रम उक्त समयभित्र सञ्चालन गर्नेछन् । आयोगले  ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिन सकिने व्यवस्था मिलाएको छ । आयोगले फागुन २६ गतेभित्र परेको उजुरीबारे अनुसन्धान तथा छानबिन गरी सम्बन्धित मतदातालाई प्रमाणसहित उपस्थित हुने सूचना प्रकाशन गर्नेछ । मतदाता नामावली नियमावलीमा दर्ता अधिकारीले छानबिनपछि त्यस्तो उजुरीमाथि कारबाहीस्वरूप मतदाता नामावलीबाट नाम हटाउनसक्ने अधिकार समेत दिएको छ ।

 

Loading...