मातृभाषा संरक्षणमा चुनौती, ४० प्रतिशत भाषा सङ्कटमा

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज

काठमाडौँ । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।

मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आज नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषामा कविता महोत्सवसहित विभिन्न जात जातिका सांस्कृतिक झाँकी कार्यक्रमको आयोजना गर्ने जनाइएको छ ।

दिवस मनाइरहँदा भाषा संरक्षणमा भने चुनौती थपिँदै गएको छ । मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन सकेका छैनन् ।

अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिँदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको छ ।

२०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छ । यो सङ्ख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको सङ्ख्याभन्दा पनि बढी हो । मातृभाषा भनेको मानिसको सभ्यता र संस्कारको संवाहक हो ।

मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक एकता कल्पना गर्न सकिँदैन । नेपालमा बोलिने झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेका छन् ।

 

Loading...