दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई अध्यागमनले फर्कायो

काठमाडौं, ६ फागुन । सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको जम्बो टोलीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ ।

शुक्रबार काठमाडौंको अनामनगरस्थित प्रियसी म्युजिक प्रालिबाट सांस्कृतिक कार्यक्रमका लागि दुबई जान लागेको कलाकारको टोलीलाई विमानस्थलबाट फर्काइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए ।

दुबई जाने कलाकारको टोलीमा ३५ जना रहेको र उनीहरुमध्ये प्रालिका सञ्चालक लगायत केही व्यक्ति मात्रै गृह मन्त्रालयको परिपत्रअनुसार जान पाउने देखिएको उनले बताए । अन्य व्यक्तिहरुसँग भने गृह मन्त्रालयले तोकेको कागजपत्र र यूएईस्थित नेपाली राजदूतावासको ‘नो अब्जेक्सन लेटर’ नभएको पाइएपछि दुबई उड्नबाट रोकिएको हो ।

गृहमन्त्रालयको माघ ९ गतेको सूचना मार्फत् माघ १० गतेदेखि लागू हुने गरी विभिन्न मुलुकमा भिजिट भिसाको लागि जानेहरूलाई कडाइ गरिएको थियो । जस अनुसार कलाकारको टोलीमा पनि कलाकारका सञ्चालक लगायत केही व्यक्ति मात्रै जान पाउने व्यवस्था छ । तर उक्त व्यवस्था विपरीत ठूलो स‌ंख्यामा कलाकारहरू जाने तयारी गरेकाले मापदण्ड विपरीत जान लागेका कलाकारलाई फर्काइएको उपाध्यायले बताए । उनीहरु फ्लाइ दुबईको एफजेड–५७२ विमानबाट दुबई जान लागेका थिए ।

Loading...