माओवादी घटकहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

१ फागुन, काठमाडौं । नकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

२७ औं जनयुद्ध दिवसको सन्दर्भमा आज शुभकामना वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै प्रचण्डले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गरेका हुन् ।

उहाँले परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्नु भएको छ। अध्यक्ष प्रचण्डले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक÷शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपील गरेका छन् ।

उनले माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध गरेका पनि छन् ।

जनयुद्ध दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य परिवर्तनकारी क्रान्तिकारी शक्तिहरुबीचको एकता भएको विश्वाससहित उनले देशभित्र र बाहिर रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र श्रमजीवि नेपाली जनसमुदायमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

माओवादीले १० वर्षे सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गर्दछ ।

यसैगरी जनयुद्धकालका सहयोद्धा ३ भागमा विभाजित माओवादी घटकहरुले आज छुट्टा छुट्टै जनयद्ध दिवस मनाउने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी पार्टीले पार्टीकार्यालय कोटेश्वर पेरिस डाडामा मनाउने भएका छन् भने मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टीले कुपण्डोलमा मध्यान्ह बाह्र बजे जनयुद्ध दिवु मनाउदैछ । त्यसैगरी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट्र पार्टीले हिजो नै काठमाडौं र पोखराका विभिन्न ठाउमा मैन बत्ती बालेर सो दिवस मनाईसकेका छन् ।

यसैगरी मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । यसअघि मधेश बलिदानी दिवस मनाउँदै आएको यो सरकारले यसपटक तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो ।

मधेश सरकारमा गत साउनदेखि नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएको छ । यो पार्टीले आन्तरिम मामिला तथा संचार मन्त्री र राज्य मन्त्री पाएको छ । माओवादीको तर्फबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको प्रस्तावमा मधेश प्रदेश सरकारले यो दिवस मनाउन लागेको छ ।

जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाइएको छ ।

कार्यक्रममा जनयुद्धका शहीद परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरिने छ । प्रदेशका प्रत्येक जिल्लाबाट पाँच÷पाँच जना गरी ४० जनालाई एक लाखका दरले आर्थिक सहयोगसहित सम्मान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।