काठमाडौं, १४ माघ । ‘मुन्द्रेको कमेडी शो’ नयाँ ढंगले शुरु गर्ने तयारीमा रहेका हास्य कलाकार जितु नेपालले चलचित्रको काम अघि बढाएका छन् । जितु र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को छायांकन शुरु भएको छ ।
जितुले यो चलचित्रको छायांकन शुरु गर्दैगर्दा दीपकराज गिरी र दीपाश्री निरौलासँगको व्यावसायिक सहकार्य भने टुटेको छ । दीपक–दीपा र केदार घिमिरेसँग निरन्तर ६ वटा चलचित्रमा सहकार्य गरेका जितुका लागि ‘ह्यारी कि प्यारी’ नयाँ अनुभव हुनसक्छ ।
दीपक र उनको टिमसँग रहँदा जितुले बाहिरको एउटा मात्र चलचित्र ‘रामकहानी’मा काम गरे । पूजा शर्मा र आकाश श्रेष्ठको पनि मुख्य भूमिका रहेको उक्त चलचित्रबाट जितुलाई खासै फाइदा पनि मिलेन ।
बरु उनलाई ‘छक्का पञ्जा, छ माया छपक्कै’ जस्ता चलचित्रले नै दर्शकमाझ लोकप्रिय बनाए । ‘जिरे खुर्सानी’पछि सानो पर्दामा ‘मुन्द्रेको कमेडी क्लब’बाट फर्किएका जितुका लागि दर्शकको घर(घरमा पुग्ने अवसर समेत मिलेको थियो ।
जितुका लागि अब आफैं चल्नुपर्ने चुनौती छ । किनकि, उनको जोडी बनेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि आफ्नो खस्किएको स्टारडम फर्काउन संघर्ष गरिरहेकी छन् ।