काठमाडौं, १३ माघ । युक्रेन संकटमा अमेरिका अब एक्लो भएको छ । अमेरिकालाई चीनको साथ मिल्ने आशा अब समाप्त भएको छ । चीन अब रुसको पक्षमा खडा भएको छ । रुसको समर्थन गर्ने चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘उचित सुरक्षा चिन्तालाई गम्भीरतापूर्ण रुपमा लिन आवश्यक छ र समस्याको समाधान निकाल्न आवश्यक छ ।’ अमेरिकी विदेश विभागले बिहीबार भनेको छ, ‘विदेशमन्त्री एन्टनी ब्लिंकनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको कुराकानीमा युक्रेनप्रतिको रुसको आक्रामकताबाट विश्वव्यापी सुरक्षा र आर्थिक जोखिम पैदा हुनेछ बताएका छन् ।’ ब्लिकनले चिनियाँ विदेश मन्त्रीसँग भने, ‘संकट समाधान गर्ने एक मात्र तरिका भनेको डी–एस्केलेशन एण्ड डिप्लोमेसी थियो ।’
अमेरिकाले बारम्बार चेतावनी दिँदै रुसले युक्रेनको सीमामा आक्रमण गर्ने उद्देश्यका साथ १ लाख भन्दा बढी सैनिकलाई राखेको बताएको छ । यद्यपि, राष्ट्रपति पुटिनले यो आरोप लगातार खण्डन गर्दै आएको छ । उनले रुसी सेना देशभित्र जहिले पनि हिँड्डुल गर्न पाउने बताएका छन् ।
रुसले गत महिना संयुक्त राज्य अमेरिका र नेटोलाई एक सुरक्षा दस्तावेज पठाएको थियो । जसमा उनीहरुलाई युरोपेली सैन्य गठबन्धनमा युक्रेनको भागिदारीको ठोकुवा गर्दै रुसको पूर्वी क्षेत्रमा आफ्नो सीमाको विस्तार नगर्न निर्देश गरिएको थियो । यद्यपि, बाइडेन प्रशासनले कुटनीतिक समाधानको कुरा गर्दै रुसको सुरक्षा मागलाई खारेज गरिदिएका थिए । ब्लिंकनले युक्रेनका लागि भविष्यको सदस्यतामाथि नेटोको बिचार स्पष्ट गर्दै भनेका छन्, ‘हाम्रो दृष्टिकोणबाट म यो भन्दा बढी स्पष्ट पार्न सक्दिन । नेटोको ढोका खुला छ, खुलै रहनेछ र यही हाम्रो प्रतिबद्धता हो ।’