अनुगमन कार्यविधि मस्यौदा तयार पार्न महानगरले गठन गर्यो समिति

माघ ११ ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनुगमन कार्यविधि मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ। महानगरले उपभोक्ताहरुको हकहितलाइ ध्यानमा राख्दै गर्दै आएको बजार अनुगमनलाइ अझ  सरल, सहज, नतिजामुखी बनाउनका लागि समिति गठन गरिएको हो।

महानगरपालिका  उपप्रमुख हरिप्रभा खड्गीको अध्यक्षतामा मंगलबार बसेको विभागीय प्रमुखहरुको बैठकले समिति गठन गर्ने निर्णय भए अनुसार  योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख नरेन्द्रविलास बज्राचार्यको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा डा. शिवराज अधिकारी, वसन्त आचार्य, रामबहादुर थापा र बलराम त्रिपाठी रहनुभएको छ।

बैठकमा बोल्दै  प्रमुख खड्गीले भन्नु भयो – ‘ स्थानीय सरकार सञ्चालनका लागि प्राप्त संवैधानिक अधिकार, स्थानीय सरकार सञ्चालन ऐनले पालिकाहरुलाई दिएका जिम्मेवारी, सेवा प्रवाह, नगरसभा र कार्यपालिका बैठकबाट गरिएका निर्णयहरुलाई आधार मानेर कार्यविधिमार्फत अनुगमनलाई एकीकृत र नतिजामुखी बनाउनुलाई लक्ष्य मानेर काम गर्नु आजको आवस्यकता हो । ’

 स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको  ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्ने व्यवस्था गर्दै  काठमाडौँ महानगर पालिकाले  महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ जारी गरिसकेको छ। पूर्वाधार निर्माण, दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको भण्डारण, मूल्य र बजार, गैरसरकारी सङ्घसंस्थाहरुले गर्ने कार्यक्रमहरु, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्यान्वयनको अवस्था, स्वास्थ्य शिक्षा, सहकारी महानगरको अनुगमन क्षेत्रमा पर्छन्।

 

 

Loading...