‘पुष्पा’ का अभिनेता अल्लु अर्जुनको कति छ सम्पत्ति?

काठमाडौं, ११ माघ । यति बेला अमेरिका, भारत र नेपालका सिनेमा हलमा एउटै फिल्मको चर्चा छ– पुष्पाः द राइज। रिलिज भएको एक महिना हुन लाग्दा पनि हलहरूमा यसले दर्शक तान्न छाडेको छैन।

‘बाहुबली’ पछि सबभन्दा धेरै चर्चा पाउने दक्षिण भारतीय फिल्म यही हो।

अल्लु अर्जुनको मुख्य भूमिका रहेको यो फिल्मले भारतमा अक्षय कुमारको ‘सूर्यवंशी’ र हलिउड फिल्म ‘स्पाइडर-म्यानः नो वे होम’ लाई कमाइका मामिलामा पछाडि पारिसकेको छ।

यसले २७ औं दिनसम्म सबै भाषामा गरी ३ सय २५ करोड भारूभन्दा बढी कमाइसकेको इन्डिया टुडेले जनाएको छ। टुडेका अनुसार एक महिना हुन लाग्दा पनि यसले कमाउन छाडेको छैन।

त्यस्तै यो फिल्म अमेजन प्राइममा पनि रिलिज भइसकेको छ।

उसो त कोरोना महामारी अगाडि अरू केही भारतीय फिल्मले पनि यत्तिको पैसा कमाएका छन्। तर दक्षिण भारतीय फिल्मको अहिलेसम्मको आँकडा हेर्ने हो भने सबभन्दा धेरै कमाउने फिल्म ‘बाहुबली’ हो।

दोस्रोमा ‘बाहुबली’ कै अर्को भाग हो भने तेस्रो ‘साहो’ हो। यी तीनै फिल्म प्रभासका हुन्।

पछिल्ला दुई वर्षमा यी फिल्मलाई कुनै तेलेगू फिल्मले चुनौती दिन सकेन।

तर यसपालि अहिले नै सबभन्दा धेरै कमाउने सूचीको चौथो नम्बरमा पर्न सफल पुष्पा नयाँ रेकर्ड बनाउनतिर लागिरहेको छ। उत्तरी भारतमा मात्र सय करोड कमाउने यो पाँचौं दक्षिण भारतीय फिल्म हो।

‘पुष्पा’ को सफलतामा अभिनेता अल्लु अर्जुनको पनि मुख्य भूमिका छ। संसारभर लाखौं प्रशंसक रहेका अल्लुलाई पनि ‘पुष्पा’ फलिफाप भएको छ।

तेलेगू भाषाका चर्चित स्टार अल्लु महँगा स्टारसमेत हुन्।

रिपोर्टअनुसार उनले एक फिल्मको १५ करोड भारूसम्म पारिश्रमिक बुझ्छन्। उनको जीवनशैली पनि लोभलाग्दो छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीसँग तीन सय पचास करोड भारूभन्दा बढी सम्पत्ति छ। अल्लु बस्ने घरको मूल्य नै सय करोड भारू भन्दा बढी पर्छ।

त्यस्तै उनले निकै महँगा सामानहरू पनि किनेका छन्।

जिक्यु इन्डियाका अनुसार उनीसँग ७५ लाख भारूभन्दा बढी पर्न हमर एचटु गाडी छ। यसबाहेक फाल्कन ब्रान्डको ७ करोड भारू पर्ने भ्यानिटी भ्यान पनि उनीसँग छ।

‘पुष्पा’को सफलतासँगै अल्लुको पारिश्रमिक बढ्ने अनुमान पनि गरिएको छ।

कोरोना महामारीका कारण अहिले भारत र अन्य देशमा फिल्म हल बन्द भएका छन्। रिलिज मिति घोषणा गरिसकेका फिल्म पनि रोकिएका छन्।

यस्तोमा सही समयमा ‘पुष्पा’ रिलिज हुँदा फिल्म निर्माण टोली र अल्लु अर्जुन दुवै पक्षलाई फाइदा भएको छ।

Loading...