शेखर पक्षको भर्चुअल भेला: गठबन्धनलाई चुनावसम्म लैजान नहुने निष्कर्ष

काठमाडौं, १० माघ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारूढ गठबन्धनसँग मिलेर चुनाव जाने तयारी गरिरहेको भन्दै कांग्रेसका संस्थापनइतर समूहले आक्रोश पोखेको छ।

नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरूसँग त्यसबारे सोमबार भर्चुअल रूपमा संवाद गरेका छन्।

सभापति देउवा गठबन्धनसँग मिलेर चुनावमा जान खोजिरहेको विषयमा कोइरालाले नेताहरूको राय लिएका थिए।

‘आफ्ना केही नजिकका मानिसहरूलाई लिएर उहाँ गठबन्धनको नाममा चुनावमा जाने तयारी गरिरहनुभएको छ, त्यसमा हाम्रो गम्भीर प्रश्न छ,’ कोइरालाले राखेका कुरा उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।

चुनावजस्तो विषयमा पार्टीभित्र छलफलै नगरी सभापति देउवा अघि बढेको भन्दै सहभागी नेताहरूले आक्रोश व्यक्त गरेको ती नेताले बताए।

‘केन्द्रीय कार्यसम्पादन समिति पनि बनेको छैन, अर्को समूहबाट निर्वाचित पदाधिकारीलाई उहाँले पार्टीभित्र छलफलमा सहभागी गराउनुभएको छैन,’ उनले भने, ‘पदाधिकारीको मान मर्दन गरिएको छ।’

सभापति देउवाले एकलौटी कदम चालेकाले त्यसप्रति सचेत रहनुपर्ने नेताहरूले बताएका थिए।

गठबन्धनसँग निर्वाचनमा जान नहुने तर्क बैठकका सहभागीहरूको थियो।

‘कांग्रेस एक्लै चुनावमा जान सक्नुपर्छ, यो गठबन्धनलाई लिएर जान सकिँदैन,’ ती नेताले भने।

बैठकमा महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल र रामशरण महत थिए।

उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बन्द्री पाण्डे र जीवन परियार राष्ट्रिय सभा चुनावको तयारीका लागि बाहिर रहेकोले छलफलमा सहभागी थिएनन्।

तीन तहको चुनाव एकैपटक गर्ने तयारीबारे बैठकमा कुरा उठेको थियो। स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनुपर्नेमा नेताहरूले जोड दिएका थिए।

सत्तारूढ गठबन्धनले भने चुनावसँग बाझिने स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर संविधानअनुसार बनाउनुपर्ने बताइरहेका छन्। चुनावबारे गठबन्धनमा पटकपटक छलफल भए पनि कांग्रेसले पार्टीमा छलफल भने गरेको छैन।

Loading...