विपक्षी नेताहरूलाई बद्नाम गर्ने षड्यन्त्र भयो : एमाले

काठमाडौं, ९ माघ । प्रमुख विपक्षी नेकपा एमालेले आफ्नो पार्टीका नेताहरुलाई बदनाम गर्न सरकारले सुनियोजित षड्यन्त्र गरिरहेको आरोप लगाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गर्दै वालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनाबारे ध्यान मोड्न सरकारले यस्तो षड्यन्त्र गरिरहेको आरोप लगाएको हो ।

नारायणहिटी संग्राहालयमा रेष्टुरेन्ट खोल्न दिएको विषयलाई लिएर पछिल्लो समय एमाले सचिव योगेश भट्टराईको आलोचना भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा बतास समूहलाई लिजमा दिने निर्णय रोखेका छन् ।

एमालेले भने ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानलाई थप अनुसन्धानका नाममा सरकारी वकिल कार्यालयले फिर्ता गराएको र त्यसबाट ध्यान मोड्न कतिपय मन्त्रीहरुले स्टट गर्दै हिँडेको बताएको छ । एमालेले भनेका छ, ‘यति गम्भीर विषयमा गरिएको षड्यन्त्रबाट ध्यान विकेन्द्रित गर्न कतिपय मन्त्रीहरुलाई विभिन्न स्टन्टबाजी’मा परिचालन गरिएको छ र विपक्षी दलका नेताहरूलाई बदनाम गर्ने सुनियोजित षड्यन्त्र भइरहेको छ ।’

बतास समूहको नाम उल्लेख नगरी एमालेले अनियमितता भएको भए निष्पक्ष छानबिन हुनुपर्ने बताएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘तर राजनीतिक इबी साध्न र शुभलामका लागि ब्ल्याकमेल गर्ने, उद्यमी(व्यवसायीहरूलाई तर्साउने, बार्गेनिङ गर्ने र मुख्य मुद्दाहरूलाई ओझेलमा पार्ने कुरा स्वीकार्य हुन सक्दैन ।’

Loading...