मधेश राजपत्रमा बुच्चे नक्सा, सरकार भन्छ– गल्ती भयो, सच्याइन्छ

जनकपुरधाम, ९ माघ । ३ माघमा दुई तिहाइभन्दा बढी मतले पारित भएको मधेश प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सरकारले आफ्नो राजपत्रमा प्रकाशित गरेको छ । तर यो सूचना प्रकाशित भएको प्रदेश राजपत्रमा भने नेपालको नक्सा पुरानै राखिएको छ । सरकारले पनि गल्ती महसुस गर्दै त्यसलाई सच्याइने जनाएको छ ।

संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो । तर, प्रदेश सरकारले राजपत्रमा नयाँ चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेको हो ।

शुरुदेखि नै पुरानै नक्सा राखेर गतिविधि गर्दै आएकाले यस्तो भएको हुन सक्ने आन्तरिक मामिला तथा संचार मन्त्रालयका प्रवक्ता सुरेन्द्र महतो बताउँछन् । ‘सच्याउनुपर्ने ठाउँमा ध्यान गएन । यो मिस्टेक हो,’ उनी भन्छन्, ‘यसलाई सच्याइन्छ ।’

मधेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साह यसबारेमा आफूले बुझ्न नसकेको बताउँछन् । ‘यदि त्यस्तो हो भने त्यो मिस्टेक हो । यसलाई सच्याउनुपर्छ’ उनले भने ।

Loading...