भिडियोमा जम्दै पुष्प र पूजाको जोडी, पूजा-आकाश सम्बन्धको साइड इफेक्ट ?

काठमाडौं, ८ माघ । एक वर्षअघिसम्म अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले धमाधम म्युजिक भिडियोमा काम गरिरहेका थिए । पूजा र आकाशलाई लिएर महंगो पारिश्रमिकमा भिडियो बनाउन निर्माताले कुनै कञ्जुस्याइँ गरेनन् ।

तर, पूजा र आकाशको मित्रतामा दरार आएपछि उनीहरु म्युजिक भिडियोमा कमै मात्र एकसाथ देखिन थाले । केही महिनायता छायांकन भएका भिडियोमा त पूजा र आकाशको जोडी देखिनै छाडेको छ ।

पूजा र आकाशलाई लिएर भिडियो बनाइरहेका अधिकांश निर्देशक र निर्माताको रोजाइमा अहिले अभिनेता पुष्प खड्का पर्न थालेका छन् । पूजा र पुष्पको म्युजिक भिडियोमा बढ्दो केमेष्ट्रीले पनि यसलाई प्रष्ट पार्छ ।

पूजा र आकाशलाई लिएर थुप्रै भिडियो बनाएका निर्देशक निकेश खड्काले आफ्ना पछिल्ला भिडियोमा पूजा र पुष्पलाई काम गराइरहेका छन् । बिहीबार पुष्प र पूजाले एक गीतको भिडियोमा काम गरे । केही दिनमै यही जोडीलाई लिएर निकेशले अर्को भिडियो बनाउने तयारी गरेका छन् ।

पूजासँग अभिनेता पल शाहको जोडीलाई पनि रुचाइन्छ । तर, चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिज मिति तोकिएपछि भने पल र पूजाले भिडियोमा एकसाथ काम गर्न कम गरेका थिए । तर, यो चलचित्रको प्रदर्शन मिति पछि सरेपछि पल र पूजाको जोडीलाई मेकरले भिडियोमा काम गराउने सम्भावना पनि उत्तिकै छ ।

पूजा र पुष्पले ६ वर्षअघि चलचित्र ‘अझै पनि’मा सँगै काम गरेका थिए ।

Loading...