दैनिक करिब ५ घण्टा मोबाइलमै बित्न थाल्यो अचेलका मानिसको समय

काठमाडौं, १ माघ । एप मनिटरिङ फर्म एप एन्नीका अनुसार मानिसहरूले दैनिक औसत ४।८ घण्टा मोबाइलमा बिताउन थालेका छन् । उक्त कम्पनीको रिपोर्ट अनुसार सन् २०२१ मा सबै एप दुई खर्ब ३० अर्ब पटक डाउनलोड भए ।

जसका लागि १७० अर्ब डलर खर्च भयो । विश्वव्यापी रुपमा टिकटक सबैभन्दा धेरै डाउनलोड हुने एप बन्यो । जसमा सन् २०२० तुलनामा प्रयोगकर्ताले २०२१ मा ९० प्रतिशत बढी समय व्यतीत गर्न थालेका छन् ।

‘समय बिताउने, डाउनलोड हुने र खर्च गर्ने सबै हिसाबले मोबाइलले सबै प्रकारका भर्चुअल रेकर्डहरू ब्रेक गरेसँगै विस्तारै ठूलो स्क्रिनको अन्त्य हुँदैछ,’ एप एन्नीका प्रमुख कार्यकारी देओड क्रन्जले भनेका छन् । एप एन्नीको पूर्वानुमान अनुसार सन् २०२२ को मध्यसम्ममा टिकटकका मासिक सक्रिय प्रयोगकर्ता डेढ अर्ब माथि पुग्नेछन् ।

मोबाइल एपमा मानिसहरूले बिताउने औसत समय चार घण्टा ४८ मिनेट रहेको छ । जुन सन् २०१९ को तुलनामा ३० प्रतिशत बढी भएको एप एन्नीको स्टेट अफ मोबाइल रिपोर्टमा उल्लेख छ ।

यसका लागि कम्पनीले भारत, टर्की, अमेरिका, जापान, मेक्सिको, सिङ्गापुर र क्यानडा सहित १० ओटा बजारको हिसाब किताब गरेको थियो । ब्राजिल, इन्डोनेसिया र दक्षिण कोरियाका प्रयोगकर्ताको मोबाइलमा बिताउने औसत समय पाँच घण्टाभन्दा माथि पाइएको छ ।

रिपोर्ट अनुसार त्यसका लागि हरेक १० मिनेटमा सात मिनेट समय टिकटक सहित सामाजिक सञ्जाल, फोटो, भिडिओ एपमा बितेको थियो ।

Loading...