निर्वाचन आयोगमा आज सर्वदलीय बैठक : राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल हुने

काठमाडौं, ३० पुस । निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका १७ दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

बैठकमा १२ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा दलसँग छलफल हुने पौडेलले बताए । राष्ट्रियसभाका मतदाता प्रदेश सांसद र पालिका प्रमुख उपप्रमुखलाई सम्बन्धित जिल्लामै मतदान गर्ने व्यवस्था गरेर भएपछि निर्वाचन गर्ने आयोगको तयारी छ ।

स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन थाल्दा निर्वाचनको तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलन लगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।

स्थानीय तहको निर्वाचनका लागि सरकारलाई मिति प्रस्ताव गरिसकेकाले दलको राय लिने तयारी सर्वदलीय बैठकमार्फत निर्वाचन आयोगले गरेको छ । वैशाखमा स्थानीय तहको निर्वाचन गर्न माघको पहिलो साताभित्र निर्वाचनको मिति घोषणा गर्नुपर्ने आयोगको भनाइ छ ।

Loading...