स्टारडमको दौडमा पछि परेकै हुन् पल शाह ?

काठमाडौं, २८ पुस । पहिलो चरणको लकडाउनपछि म्युजिक भिडियोमा सर्वाधिक व्यस्त बनेका मोडल तथा अभिनेता पल शाह चलचित्रमा पनि व्यस्त छन् । नेपाली चलचित्र क्षेत्रमा अनमोल केसी, प्रदीप खड्का र पल शाहलाई एकअर्काको प्रतिस्पर्धीका रुपमा हेर्ने गरिन्छ । उनीहरुले नेपाली चलचित्र क्षेत्रमा केही समय राज नै गर्छन् भन्ने खालका चर्चा पनि हुने गर्दछ ।

तर, कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनयता दैनिकजसो नै म्युजिक भिडियोमा देखिएका पल शाह भने यो दौडमा पछि पर्न थालेको अनुमान लगाउन थालिएको छ । पल र प्रदीपले लकडाउनमा पनि स्टारडम मेन्टेन गरेको देखिएको भनिएको छ । तर, पल भने हरेक दिन कि त भिडियो, कि सार्वजनिक कार्यक्रम वा कुनै न कुनै युट्युब च्यानलको अन्तर्वार्तामा देखिए । जसले पनि दर्शकमाझ उनीप्रतिको क्रेज घटेको बताउने गरिएको छ ।

पल अभिनित म्युजिक भिडियो दिनहुँ सार्वजनिक हुँदा त्यसले उल्लेख्य भ्युज समेत पाउन छाडेको देखिन्छ । कुनै समय घन्टामै पलका भिडियोले ५० हजार भ्युज सहजै पाउने गर्थे । तर, अहिले यस्तो देखिँदैन ।

तर, पल भने स्टारडमको दौडमा पछि परेको कुरा स्वीकार्न तयार छैनन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘कुनै पनि चलचित्र आएर सुपरफ्लप भयो भने म यसको जवाफ दिनेछु ।’

अनमोल, प्रदीप भन्दा आफ्नो स्टारडम डाउन भएको भन्ने प्रश्नमा उनले भने, ‘यहाँ स्टारडम जोख्ने यन्त्र के छ ? हल्लाको पछि लाग्ने होइन । म प्रत्येक दर्शकको घर(घरमा पुग्न चाहन्छु । मलाई हरेक वर्गका दर्शकको मनमा बस्न मन छ । अरुको विषयमा मलाई केही थाहा छैन ।’

पलले आफ्नो भिडियोको भ्युज कम नभएको र दर्शकले गाली पनि नगरेको भन्दै दर्शकबाट नकारात्मक प्रतिक्रिया आएको दिनमा यो प्रश्न सुहाउने बताए ।

Loading...