बारले सांसदहरुलाई भन्योस् राणाविरुद्धको महाअभियोगका लागि विवेक प्रयोग गरौं

काठमाडौं, २७ पुस । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियनसले प्रतिनिधि सभाका सांसदहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगका लागि आफ्नो विवेक प्रयोग गर्न आग्रह गरेको छ।

प्रधानन्यायाधीश राणाका सन्दर्भमा सबै राजनीतिक दललाई १७ बुँदे ध्यानाकर्षण बुझाइएको र उनीविरुद्ध महाअभियोग लगाउन ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका आधार नै पर्याप्त भएको बारले उल्लेख गरेको छ।

बारले राजधानीमा सार्वजनिक सञ्चार माध्यमसँग छलफल गर्दै सांसदहरुलाई न्यायलय जोगाउनका लागि आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको हो। बारका वर्तमान पदाधिकारी र पूर्व अध्यक्ष समेत संलग्न छलफलमा बारले राणाविरुद्ध ७३ दिनदेखि आफूहरु किन आन्दोलनमा रहेको भनेर समेत स्पष्ट पारेका छन्।

बारले महाअभियोगको विषयमा राजनीतिक दलले ह्वीप लगाउन नमिल्ने वा नपाइने विश्वव्यापी संवैधानिक अभ्यास रहेको भन्दै सांसदहरुलाई स्वतन्त्र रुपमा राणाविरुद्ध महाअभियोगको पक्षमा उभिन आग्रह गरेको छ।

‘नेपालमा समेत राजनीतिक दलसम्बन्धी ऐनमा सोही व्यवस्था भएकोले प्रत्येक दलका प्रत्येक सांसदहरुले आफ्नो विवेक प्रयोग गर्नसक्ने भएकोले त्यसतर्फ आफ्नो संबैधानिक जिम्मेवारी एवम् न्यायिक विवेक प्रयोग गर्न सबै सांसदलाई ध्यानाकर्षण गर्दछौं,’ बारले जारी गरेको स्पष्टीकणमा भनिएको छ, ‘भ्रष्टाचार र अनैतिक आचरणको संगीन आरोप खेपीरहेका प्रधानन्यायाधीश राणाले नेपाल राज्यको सम्मानित प्रधानन्यायाधीशको हैसियतले दैनिक राष्ट्रिय झण्डा हल्लाएर सरकारी सुविधा र सम्मान दुरुपयोग गर्दै हिँडेको कार्यले हामी समग्र न्यायकर्मीहरुको शीर निहुरिएको छ।’

Loading...