काठमाडौँ महानगरमा खुल्ला शारीरिक व्यायाम स्थल पार्क स्थापना

काठमाडौँ । काठमाडौँ महानगरको वडा १८ मा खुल्ला शारीरिक व्यायाम स्थल स्थापना गरिएको छ । पुष्पलाल पार्कमा जडान गरिएका शारीरिक अभ्यास उपकरणको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज उद्घाटन गर्नुभयो ।

त्यस क्रममा बोल्दै प्रमुख शाक्यले, महानगर क्षेत्रभित्रका खुल्ला ठाउँलाई उपयोग गर्न स्थानीयलाई आग्रह गर्नुभयो । ‘हामीले खुल्ला गरेर पार्कका रुपमा विकास गरेका ठाउँहरु स्थानीयका लागि हुन् । ती ठाउँमा स्थानीयहरु आउने, घुम्ने, आपसी कुराकानी गर्ने गर्न थाल्नुभयो भने हामीले गरेको कामको परिणाम आएको महसुस गर्न पाउने थियौँ ।’ सहरमा मानवीय आचरण यान्त्रिक बन्न थाल्यो । शारीरिक अभ्यास गर्न जाँदा गाडी चढेर जानु पर्ने भयो । अवस्था केलाउँदै प्रमुख शाक्यले भन्नुभयो, ‘हामी हरेक वडामा कम्तीमा एउटा पार्क बनाएर घर नजिक शारीरिक अभ्यास गर्ने ठाउँ बनाउँछौँ । सार्वजनिक जग्गा खोजेर संरक्षण गर्ने, पार्क बनाउने काम हाम्रो हो । त्यसको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा स्थानीयबासीको हो ।’
त्यस क्रममा वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले, भित्री वडाहरुमा यसप्रकारको खुल्ला व्यायाम स्थल पहिलो भएको उल्लेख गर्दै भन्नुभयो, ‘वाहिरी वडाहरुमा खुल्ला ठाउँ पनि भएकोले यस अघि नै खुल्ला व्यायामशाला बनाइए । भित्री वडामा खुल्ला ठाउँ नभएकोले यसप्रकारका सेवा सञ्चालन गर्न कठिन छ ।’ वडाले प्रवाह गर्ने सेवा र वडाबाट स्थानीयमा प्राप्त हुने सुविधा वितरणमा राजनीतिक पूर्वाग्रह नराखिएको उल्लेख गर्दै वडाध्यक्ष महर्जनले, साझा सोचलाई राजनीतिक रङ्गले हेर्न नहुने धारणा राख्नुभयो ।

यो निःशुल्क सेवा हो ।
यी सामाग्रीहरु न्यु आनन्द टे«ड हाउसले जडान गरेको हो । व्यायाम स्थलमा स्काइ वाकर, एअर वाकर, क्रस टे«नर, सिट अप सिङ्गल, चेस्ट प्रेस, थाइ ची स्पिनर, साइकल, हर्स राइडर, डवल स्ट्याण्डिङ् ट्वीस्टर, पुस अप बार, व्याक एक्स्टेन्सनजस्ता ११ प्रकारका सामग्री छन् । यिनीहरु ९ लाख ९५ हजार रुपैयाँ लागतमा जडान गरिएको टे«ड हाउसका परामर्शदाता चन्द्रेश्वरप्रसाद सिंहले जानकारी दिनुभयो ।

Loading...