प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा सवारी साधन चार्जिङ स्टेसन छ महिनाभित्र बन्ने

मङ्सिर ४,काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले छ महिना भित्र ५० वटा सवारी साधन चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ। प्राधिकरणले सुरु गरेको ५० वटा चार्जिंग स्टेसन प्रमुख राजमार्गका ३२ स्थानमा निर्माण गरिन लागिएको हो ।

स्टेसन रहने स्थानको पहिचान गरि चार्जर मेसिन खरिदको सम्झौता समेत भइसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुशार बन्दै गरेको स्टेसनमा विद्युत् लाइन पु-याउने काम भइरहेको र छ महिनाभित्र सम्पन्न हुने छ।

उहाँका अनुसार चार्जिङ स्टेसन पूर्वपश्चिम, पृथ्वी, सिद्धार्थ, बीपी र मदन भण्डारी लगायतका राजमार्गमा राखिनेछ । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा रहनेछन् । विद्युतीय स्टेसनबाट कार आधा घन्टा र बस एक घन्टामा पूर्ण रूपमा चार्ज हुनेछ । चार्जिङ स्टेसनमा दुई सय किलोवाटको ट्रान्सफर्मर राखिने छ । टेक्नोलोजी कम्पनीले चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।

एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिन लागिएको हो । एउटा चार्जिङ स्टेसन निर्माणमा करिब ८० लाख रुपियाँ लगानी गरिएको छ । ५० वटा स्टेसन निर्माणको लागत ४० करोड रुपियाँ छ । हरेक प्रदेशमा पाँचवटा स्टेसन रहनेछन् । काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा अन्य आवश्यक स्थानमा स्टेसन हुनेछन् ।
मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्नुका साथै अनलाइन भुक्तानी गर्न सकिने समेत सुबिधा रहने छ ।

 

Loading...