५९ सांसदको हस्ताक्षरसहित बागमतीको मुख्यमन्त्रीमा पाण्डेको दाबी

काठमाडौँ । बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनले बहुमतसहित दाबी पेश गरेको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि दलहरूलाई आह्वान गरेलगत्तै गठबन्धनमा रहेका ५९ प्रदेशसभा सदस्यहरूको हस्ताक्षर लिएर प्रदेश प्रमुखको कार्यालयमा पेश गरिएको हो ।

मुख्यमन्त्री दाबीका लागि हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादी (एस)का १३ र जनता समाजवादी पार्टी (जसपा)का १ सदस्य छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि आह्वान गरेका हुन् । त्यसका लागि बिहीबार दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीको प्रस्ताव गरेको छ । पार्टी विभाजनपछि देशैभर सत्ताच्युत हुँदै गएको एमाले बाग्मती प्रदेश सरकारबाट पनि बाहिरिएसँगै गठबन्धनले भोलि नै सरकार गठन गर्ने तयारी गरेको छ ।

प्रस्तावित मुख्यमन्त्री पाण्डेले बिहीबार ४ सदस्यीय सरकार गठन गर्ने बताएका छन् । कांग्रेसका उपनेता कृष्णलाल भडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र समाजवादीका उपनेता कृष्ण खनाल सहभागी हुने सम्भावना छ ।

बाँकी मन्त्रिमण्डल तिहारपछि मात्रै विस्तार हुने बताइएको छ । पाण्डेले गठबन्धनमा रहेको ४ दलमा मन्त्रालय भागबण्डा गर्नुपर्ने भएकाले केही मन्त्रालय विभाजन हुनसक्ने संकेतसमेत गरेका छन् ।

Loading...