काठमाडौँ महानगरपालि स्थानीय तहमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सुरु

कार्तिक ७ ,काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लवको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले क्लिनिकको शुभारम्भ गर्नुभएको हो ।
क्लिनिक शुभारम्भ गर्दै प्रमुख शाक्यले, स्वास्थ्य र शिक्षामा महानगरले लगानी बढाएको उल्लेख गर्नुभयो । ‘हामीले महानगरबासीको मात्र उपचार गरेर हुँदैन । देशविदेशबाट काठमाडौँ आउने सबैको उपचार गरिदिनुपर्छ । महानगरले सञ्चालन गरेका क्लिनिकमा सेवाग्राहीको आकर्षण बढाउन सकियो भने ठूला अस्पतालमा सामान्य समस्याका विरामीको चाप घट्छ । यसले गर्दा ठूला अस्पतालहरुमा जटिल रोगको उपचारमा सहज हुन्छ । त्यसैले हामीले स्वास्थ्यमा लगानी बढाएका छौँ । अन्य स्वास्थ्य संस्थासँग सहकार्य गरेका छौँ । यसले गर्दा कोविड, डेङ्गुलगायत महामारीसँग जुध्न सजिलो भएको छ ।’
त्यस क्रममा प्रमुख शाक्यले, महानगरले सञ्चालनमा ल्याएका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकको आकर्षण बढाएर सेवाग्राहीको संख्या बढाउँदै लैजानु पर्ने बताउनुभयो । लगानी बढाउने जाने, सेवाग्राहीको संख्या घट्दै जाने हो भने लगानी खेर जान्छ । हाम्रो लगानीबाट धेरै नागरिकले लाभ पाउनुपर्छ । उहाँको भनाइ थियो ।
त्यस क्रममा वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले, सरकारले जनताका लागि व्यवस्था गरेका सेवा वडाबाटै पाउने वातावरण तयार भएको उल्लेख गर्नुभयो । त्यस्तै क्लिनिक इञ्चार्ज लक्ष्मण अधिकारीले, क्लिनिक सञ्चालनमा आएपछि सेवा व्यवस्थापनमा सहज भएको उल्लेख गर्नुभयो ।
अहिले महानगरका ३२ वटै वडामा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक छन् । यसका अतिरिक्त वडा १२ र १४ मा थप १÷१ वटा क्लिनिक छन् । रामघाट प्राथमिक स्वास्थ्य केन्द्र नेपाल सरकारबाट महानगरलाई नीतिगत रुपमा हस्तान्तरण गरिसकेको छ । यस्तै टेकुमा एउटा अकुपङ्चर सेवा पनि छ ।
महानगरले एक वडा एक सामुदायिक सहरी क्लिनिकको नीति बनाएर सबै वडामा क्लिनिक स्थापना गरेको हो । यसको पछिल्लो क्रममा वडा २, ९, ११, २०, २१, २२ र ३० गरी ७ वटामा स्थापना गरिए ।

Loading...