मुस्ताङवाट ल्याइएको च्याङ्ग्रा महँगो

काठमाडौं ।  दसैँको लागि मुस्ताङवाट ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ । नेपाल ट्रष्टले ल्याएको च्याङ्ग्रा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि ल्याइएको छ ।

सोमबारदेखि खरीदका लागि ग्राहक आए पनि बुधबार बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ । भक्तपुर जिल्लाका मात्रै नभई काठमाडौं र वनेपा देखिका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आए पछि व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु एक हजार २०० मा बिक्री गरेका छन् ।

आजबाट भने अझै रु १०० मूल्य बढ्न सक्ने व्यापारी बताउँछन् । माग भन्दा अपूर्ति कम भएकोले मूल्य वढेको विज्ञहरुको भनाई छ ।यो मूल्य गत वर्षको भन्दा दोब्बर मूल्य हो । व्यापारीले गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु ७५० देखि रु ८०० सम्ममा बिक्री गरेकोमा यस वर्ष भने सुरुको मूल्य नै रु एक हजार २०० राखेका छन् ।

गत वर्षभन्दा यस वर्ष मुस्ताङमा घरमै च्याङ्ग्रा महँगो तिर्नुपरेकाले मूल्य बढेको व्यपारीहरु बताउँछन् । चीनबाट मुस्ताङसम्म ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा च्याङ्ग्रा प्रतिगोटा रु ४० हजार तिर्न परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो ।

च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गरेर ल्याउनुपरेको जनाउँदै व्यापारीले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनुपर्ने र किलोमा बिक्री गर्नुपर्दा च्याङ्ग्रा महँगो परेको भनाइ छ ।

च्याङ्ग्रा तयारी मासुको मूल्य भने रु दुई हजार ६०० छ । च्याङ्ग्रा ल्याउँदा यस वर्ष विभिन्न ठाउँमा रु २५ हजार कर तिरेको र भक्तपुर नगरपालिकालाई रु २५ हजार कर तिरेको व्यापारीहरु बताउँछन् भने भक्तपुर नगरपालिकालाई कर तिरे पनि नगरपालिकाले एउटा अस्थायी शौचालयसम्मको व्यवस्था नगरेको व्यापारीको गुनासो रहेको छ ।

Loading...