दिउँसो साढे चार बजे हनुमानढोकामा फूलपाती भित्र्याइँदै

काठमाण्डाै । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नौ वटा देवीको प्रतीकका रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । फूलपाती भित्र्याएपछि नौवटा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि गौतमले जानकारी दिनुभयो । हनुमानढोका दरबारको दशैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाण्डौबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । यस वर्षको फूलपाती आज दिउँसो साढे चार बजे भित्र्याइँदै छ ।

आजैका दिनदेखि दशैं बिदा पनि सुरु भएको छ । दशैँको पाँच दिन बिदा हुने गरेकाले सरकारी कार्यालय पनि बन्द हुन्छ ।

Loading...