पोखरा राइनोजलाई ४ विकेटले पराजित गरी ईपीएलको उपाधि चितवनले उचाल्यो

काठमाडौँ। चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो ।

चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ । उपविजेता बनेको पोखराले १५ लाखमा चित्त बुझाएको छ ।पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै दिलिप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । मोहमद साहजदले ११ रन जोड्दा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहदा सेकुग्गे प्रसन्न १ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १११ रन बनाएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचार्ड लेभीले २६ रन जोड्दा विपिन रावलले १७ रन बनाए । कप्तान विनोद भण्डारीले २२ रन बनाए । किशोर महतो १ रनमा अविजित रहे ।

विवेक यादव ४, रित गौतम २, सहन अर्चाचिगे २ बिक्रम सोब १ रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । उनले मात्र २० रन खर्चिए ।

यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा १/१ विकेट रह्यो ।

Loading...