भारतीय तस्कर समूहद्वारा कञ्चनपुरको सीमामा सशस्त्र प्रहरीमाथि आक्रमण

कञ्चनपुर, ५असोज । कञ्चनपुरमा भारतीय तस्करको समूहले ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई आक्रमण गरेको छ। जिल्लाको दोधारा–चाँदनी नगरपालिका–८ मा अवैध सामान रोक्न खोज्दा सशस्त्र प्रहरीका तीन जना जवानविरुद्ध आक्रमण भएको हो।

सोमबार राति नेपाल–भारत सीमामा ड्युटीमा खटिएका सुदीप सुनारसहित तीन जना सशस्त्र प्रहरीका जवान कुटिएका हुन्।

‘हामीहरु गस्तीको क्रममा दोधारचाँदनी नगरपालिका–८ मा थियौँ। त्यही क्रममा एक जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चिनीको बोरा लिएर आइरहेको थिए’, आक्रमणमा परेका सुनारले भने, ‘हामीले ओसारपसार गरिरहेको अवैध चिनी नियन्त्रणमा लिन खोज्दा ८/९ जनाको समूह नै आएर कुटपिट गरे।’

नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसारपसार गरिरहेका थिए। सशस्त्र प्रहरीले तिनीहरूलाई रोकेर नियन्त्रणको प्रयास गरेको थियो। तर ८ जनाको समूहमा रहेका तस्करले प्रहरीलाई आक्रमण गरेका हुन्।

त्यसपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको चिनी र मोटरसाइकल लिएर तस्कर फरार भएका हुन्। भारतीय तस्करको आक्रमणबाट घाइते सशस्त्र प्रहरी जवानको उपचार दोधारा–चाँदनी हेल्थ पोस्टमा भइरहेको छ।

Loading...