‘गलत सूचना र अफवाहलाई चिर्ने काम मिडियाले गर्न सक्नुपर्छ’

लन्डन, ३ असोज । महामारीका बेला मिडियाको भूमिका झनै महत्त्वपूर्ण र आवश्यक बनेको विचार विज्ञहरूले व्यक्त गरेका छन् ।

एनआरएनए आईसीसी स्वास्थ्य समितिको आयोजनामा लन्डनमा जारी तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनअन्तर्गतको ‘महामारीमा मिडियाको भूमिका’ विषयक सेसनका वक्ताहरूले महामारीका बेला फैलिन सक्ने गलत सूचना र अफवाहलाई चिर्ने काम मिडियाले गर्न सक्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाको सहकार्यमा आइतबार बिहान आयोजित भर्चुअल कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरलले महामारीका बेला मिडियाले अतिरिक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । स्वस्थ पत्रकारबाट मात्र स्वस्थ पत्रकारिताको अपेक्षा गर्न सकिने भन्दै उनले महासंघले महामारीका बेला पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता बनाएको जानकारी दिए ।

आमनागरिकलाई आवश्यक जानकारी र सूचना निरन्तर प्रवाह गर्दै भ्रम र गलत अवधारणा चिर्न तथा जिम्मेवार निकायलाई खबरदारी गर्नसमेत मिडियाले भूमिका खेल्न सक्ने अध्यक्ष पोखरेलको भनाइ थियो ।

बेलायतस्थित युनिभर्सिटी अफ बर्नमाउथका पोस्टडक्टरल रिसर्च फेलो डा. निर्मल अर्यालले महामारीका बेला सही र आवश्यक सूचना प्रकाशन गर्नु मिडियाको प्रमुख कर्तव्य हुने बताए ।

सम्बन्धित विषयका विज्ञ र जानकारसम्म पुगेर उनीहरूले दिने जानकारी र परामर्श आमसमुदायसम्म पुर्‍याउने काम मिडियाले गर्नुपर्ने उनको भनाइ थियो ।

वरिष्ठ पत्रकार एवं बाह्रखरी डटकममा प्रधानसम्पादक प्रतीक प्रधानले महामारीका बेला मिडिया र मिडियाकर्मी आफैँ पनि चपेटामा परेकाले उनीहरूको प्रभावकारितामा कमी भएको हुन सक्ने अनुभव सुनाए । गलत सूचना फैलावट र सही जानकारीको अभाव चुनौतीका रूपमा देखिएको भन्दै उनले मिडियाकै क्षमता र स्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।

एनआरएनए आईसीसीका महासचिव डा. हेमराज शर्माले कोभिड महामारीका बेला एनआरएनएले स्वास्थ्यकर्मी तथा मिडियाकर्मीहरूसँगकै सहकार्यमा राहत तथा सहयोगका कार्यक्रम संचालन गरेको जानकारी गराए । संसारका विभिन्न मुलुकमा रहेका नेपालीसँग रहेको ज्ञान, अनुभव र विज्ञतालाई आमसमुदायको हितमा मिडियाले सदुपयोग गर्नुपर्ने उनले सुझाव दिए ।

Loading...