टोलटोलमा यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु

भक्तपुर, २ असोज । भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरूप यमःद्यो ठड्याइएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन भक्तपुरका टोलटोलमा यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ ।

इन्द्रजात्रा सुरूवातको दिन भक्तपुरको टोलटोलमा यमः द्यो ठड्याउने गरिन्छ। जात्राको पहिलो दिन स्थानीय गुठियारले नगरको टोलटोलमा विधिवत् पूजाआजासहित नगरका ईताछें, तेखापुखुः, मुलाखुः, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, गःहीटी, महालक्ष्मी स्थान, चासुखेललगायतका स्थानमा यमःद्यो ठड्याएइने संस्कृतविद् ओम धौँभडेलले बताए ।

उनका अनुसार भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरवको जात्रा, याँमता (आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकीसी जात्रा गरी आठ दिनसम्म धूमधामका साथ मनाइन्छ।

पौराणिक कथनअनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो। पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरूले पारिजात फूल टिप्दै गरेको बेला नियन्त्रणमा लिए। त्यसपछि जयन्तलाई दुई हात पछाडि बाँधेर राखियो। जयन्तलाई छुटाउन देवता र दैत्यहरूबीच युद्ध भयो । देवगणको जित भयो। त्यसैको खुसियालीमा इन्द्रजात्रा मनाउन थालिएको भक्तपुरका संस्कृतविद् धौभडेलले बताए।

Loading...