एनभीए महिला तथा पुरुष क्लब भलिबल असोज १० देखि हुने

काठमाडौँ । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने भएको छ ।

नेपाल भलिबल संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको हो ।

राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।

प्रतियोगिताको प्रथम हुने टिमले ४ लाख, दोस्रो हुने टिमले २ लाख र तेस्रो हुने टिमले १ लाख पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट पुुरुष/महिला खेलाडीले जनही २५/२५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

दुबै विधाका उत्कृष्ट सर्भर, लिबेरो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही १०/१० हजारका दरले पुरस्कार पाउने उनले बताए ।

क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने उनले बताए ।

Loading...