एमसीसी नेपालको स्वाधीनतामाथि ठाडो हस्तक्षेपः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागु हुन नदिने बताएका छन् । सोमबार काठमाडौँको खुल्लामञ्चमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको तर्क गरे ।

महासचिव विप्लवले यो नेपालको स्वाधीनतामाथि ठाडो हस्तक्षेप भएको बताउँदै यस्तो रणनीतिक हस्तक्षेपलाई केही राजनीतिक दलका प्रमुख नेताहरु नै यसलाई जसरी पनि लागु गराउन लागि परेको भन्द्र आक्रोश व्यक्त गरे ।

उनले अमेरिकाले नेपालमा आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पारित गर्न दवाव दिएको उल्लेख गर्दै एमसीसी जबरजस्ती पास गर्न खोजिए राँको बाल्ने चेतावनी दिए । पैसाले मात्रै विकास नहुने भन्दै बिप्लवले एमसीसीले देश विकास हुन्छ भन्नु मुर्खता भएको बताए । उनले एमसीसीका विषयमा मान्छेलाई भाँड्ने प्रयास भइरहेको र नेपाली जनताले यो कुरा बुझेको पनि बताए ।

कायर र गद्दारहरु झुके पनि तातो रगत भएका युवा र वास्तविक राष्ट्रप्रेमीहरु एकजुट भएर लाग्नुपर्ने बेला आएको उनले बताए । साथै उनले एमसीसी परियोजना लागु भएमा देशमा आन्दोलनको आँधिबेहरी सिर्जना हुने चेतावनी पनि दिए ।

त्यस्तै बिरोध सभामा नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसीको बहानामा अमेरिकाले नेपालमा कव्जा जमाउन खोजेको आरोप लगाए ।

गजुरेलले एमसीसी सम्बन्धी बहसमा बुद्धिजिविहरुले युरेनियम कब्जा गर्ने लेखेको कहाँ छ भन्दै प्रश्न गरेकोमा अचम्म लागेको तर्क गरे । उनले नेपालको राष्ट्रिय स्वाधिनताका बिषयमा कुनै सम्झौता गर्न नहुने बताए ।

Loading...