एमसीसी उपाध्यक्षको टोलीले प्रधानमन्त्रीभन्दा पहिला केपी ओलीलाई भेट्दै

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौ आइपुगेको छ ।

फातिमा सुमारका साथमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि रहेका छन् । बिहीबार कतारबाट काठमाडौं आएको टोली चार दिन नेपाल रहने बताइएको छ । उनीहरुले प्रधानमन्त्रीलाई भन्दा पहिला प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्ने भएका छन् ।

काठमाडौंस्थित अमेरिकी राजदुतावास स्रोतका अनुसार दिउँसो एमाले अध्यक्ष ओलीबाट राजनीतिक भेटवार्ता सुरु गर्ने उनीहरूले भरे वा भाेलि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नेछन् ।

बिहान सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका उनीहरू पत्रकारहरूसँग तर्किँदै सिधै मेरिट होटल गएर बसेका छन् । बिहानको खाना उनीहरूले साढे १२ बजे अमेरिकी राजदूत र्‍याण्डी बेरीको कमलादीस्थित निवासमा गएर खानेछन् । त्यसपछि एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकाेट जानेछन् । त्यहाँबाट फर्केर उनीहरूले याक एण्ड यतिमा रहेको मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसीए–नेपाल)को निरीक्षण गर्नेछन् । एमसीए नेपाल एमसीसीको प्रवर्धन गर्न गठित निकाय हो ।

सुरक्षा चुनौती देखाउँदै पत्रकार सम्मेलन नगर्ने निचोडमा पुगेका फातिमा र जाेनाथनले आजै विज्ञप्ति भने जारी गर्ने तयारी गरेका छन् । नेपालमा एमसीसी परियोजनाबारे चर्को विवाद छ । नागरिकस्तरबाटै यसका विभिन्न सर्तमाथि प्रशस्तै प्रश्न उठाइएपछि केही दिनअघि सरकारले एमसीसीलाई ती प्रश्नसहितको पत्र पठाएको थियो । त्यसको जवाफ एमसीसीले फर्काइसकेको छ । र, कुनै सैन्य रणनीति वा सामरिक स्वार्थ नरहेको जनाइसकेको छ ।

एमसीसीको विरोधमा प्रदर्शन तीब्र चलिरहेका बेला उपाध्यक्ष र सहायक उपाध्यक्ष नेपाल आइपुगेका हुन् । फातिमा एमसीसीको कम्याक्ट अपरेसन हेर्ने उपाध्यक्ष हुन् । जेनाथनाले चाहिँ एमसीसीको युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिका हेर्छन् ।

Loading...