बज्राचार्य पु्जाविधिलाई १६ वडाबाटै पाँच लाख सहयोग

 

 

ललितपुर- बौद्ध संस्कृति र संस्कारको जर्गेना गर्न ललितपुर महानगरपालिका– १६ वडाले बज्राचार्य पुजाविधि अध्ययन समितिलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ । बज्राचार्य गुरुजुहरुबाट विहीबार धार्मिक पुजा गरी वडा अध्यक्ष निर्मलरत्न शाक्य, वडासदस्यद्वय पञ्चबज्र बज्राचार्य, सुप्रभा शाक्यले संयुक्त रुपमा समितिका अध्यक्ष दीपक बज्राचार्यलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो।चेक हस्तान्तरणका क्रममा बज्राचार्य गुरुजुहरुले मंगलास्तोत्र पाठ गरेका थिए । सो अवसरमा वडाअध्यक्ष शाक्यले नेवार बौद्ध समाजका प्रत्येक संस्कृति, परम्परा, संस्कारमा पुजाआजा पाटो जोडिएको उल्लेख गर्दै पुजाआजा गर्ने धार्मिक विधि, पद्धतिको संरक्षण र आधुनिक पुस्ताका गुरुजुहरु उत्पादन गर्न खडा गरिएको अक्षय कोषको लागि सो रकम प्रदान गरिएको बताउनुभयो । भौतिक पूर्वाधारका साथै संस्कृति, संस्कार पनि मानवीय विकासको अभिन्न भएको हुनाले त्यसको संरक्षण गर्नु पनि स्थानीय तहको दायित्व रहेको वडाअध्यक्ष शाक्यको भनाई रहेको छ । सो समारोहमा समितिका अध्यक्ष दीपक बज्राचार्यले धार्मिक पुजाविधिको सैद्धान्तिक ज्ञान, विधि र त्यसको महत्व पुस्तान्तरण नहुँदा एक समयमा लोप हुनै लागिसकेको उल्लेख गर्दै भन्नुभयो ‘ समितिको अघि सारेका कार्यक्रमले लोप हुनै लागेको संस्कार, मानिस जन्मिएदेखि नमरुञ्जेल गर्नुपर्ने संस्कार र पुजा विधिले पुनःजीवन पाएको छ । यस कार्यमा थप उत्साहका साथ अघि बढाउन वडाको सहयोगले समितिलाई प्रेरित गरेको छ।’ समिति स्थापना हुनु भन्दा दु्ई वर्ष अघि २०५२ सालमा बौद्ध संस्कृति विद्यार्थी संघका आठ जना गुरुजु मार्फत पुजाआजा विधिबारे औपचारिक रुपमा प्रशिक्षण दिने कार्य शुरु गरिएको थियो।करिब २५ वर्षको दौरानमा समितिले युवापुस्ता माझबाट धार्मिक पुजाआजा गर्न सक्षम १ सय जना भन्दा बढी बज्राचार्य गुरुजु उत्पादन भइसकेको समितिले जनाएको छ । समितिका अनुसार प्रत्येक वर्ष छ महिने बज्राचार्य पुजा विधि प्रशिक्षण, नेवार बौद्ध समाजमा प्रचलित पञ्चदान, आर्यतारा, मुखष्टमी लगायत ब्रतहरु सञ्चालन गर्ने, दिक्षा दिने, बेलविवाह र गुफा राख्ने लगायत संस्कारलाई निरन्तरता दिने कार्यहरु गर्दै आएको छ ।

Loading...