थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने : मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने वताउनुभएको छ । बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो ।
उहाँले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौँ बनाउँने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘वर्षाका कारण विग्रिएको सिसडोलसम्म जाने बाटो बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई दुर्घन्ध कम गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगवासीलाई अनुरोध गर्न चाहन्छु,’ उहाँले भन्नुभयो।
प्रमुख शाक्यले फोहोर व्यवस्थापनका लागि सरकारसँग समन्वय भैरहेको जानकारी दिनुभयो ।
उहाँले विगतका दिनमा पनि समन्वयमै फोहोर व्यवस्थापन गरिरहेको समेत जानकारी दिनुभयो । ‘अहिले पनि समन्वय गरिरहेका छौँ, उहाँहरुबाट सकारात्मक रुपमा सहयोग गर्ने बचन प्राप्त भएको छ,’ शाक्यले भन्नुभयो, ‘मुख्य गरेर सिसडोलसम्म जानका लागि अस्थायी सडक निर्माणका लागि हामीले सडक विभागलाई आग्रह गरेका छौँ । हामी बाटो निर्माणका लागि खर्च गर्न तयार छौँ । तर, त्यहाँको डिजाइन तयार पार्न हामीले सडक विभागलाई आग्रह गरेका हौँ । सहरी विकास मन्त्रालयसँग हामीले पहिलादेखि नै सहकार्यमा थियौँ ।’
अहिले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट सहरी विकास मन्त्रालयले बनाइरहेको स्मरण गराउँदै उहाँले फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको बताउनुभयो । ‘कसैले कसैलाई दोष लगाएर मुक्त हुनुहुँदैन,’ उहाँले भन्नुभयो, ‘हामी सबैलले समन्वयमा फोहोर व्यवस्थापन गर्नुपर्छ । मुख्य गरेर सहरी विकास मन्त्रालयले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा हामी व्यवस्थापन गर्न सक्छौँ । उहाँहरुले हस्तान्तरण नगरेसम्म हामी व्यवस्थापन गर्न कठिनाई हुन्छ ।’

सञ्चारकर्मीको टोलीसँगै सिसडोल पुग्नु भएका काठमाडौँ महानगर वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले पनि गत वर्ष नै बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइटको निर्माण जति सक्दो छिटो सम्पन्न नहुने हो भने सिसडोलमा फहोर व्यवस्थापन गर्न कठिन हुने जानकारी मन्त्रालयलाई गराएको स्मरण गराउनुभयो । ‘तर उहाँहरुले यो वर्ष बञ्चरे डाँडामा फाहोर जाँदैन, सिसडोलमै व्यवस्थापन गर्नुहोस भनेपछि हामीले गतवर्ष सिसडोलमै फोहोर व्यवस्थापन गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘हामीले यो वर्ष सिसडोलमा फोहोर व्यवस्थापन गर्न सकिन्न । बञ्चरे डाँडामा जानुको विकल्प छैन भनेर पटक–पटक भन्यौँ, छलफल पनि भयो । यद्यपि, कोभिडका कारण निर्माण सम्पन्न गर्न ढिलाई भएकाले थप समस्या भयो ।’ उहाँले वर्षका कारण सिसडोलमा फोहोर व्यवस्थापन गर्न थप समस्या भएको जानकारी दिनुभयो । ‘अहिले काठमाडौँको फोहोर व्यवस्थापन नै नभएको होइन । तर, फोहोर व्यवस्थापन गर्नु पर्ने ठाउँमा पुग्न करीव ४ सय मिटर फोहोरमाथि बनेको सडकबाट जानु पर्छ । नियमित झरीले गर्दा त्यो सडक भासिने भएपछि फोहोर बोकेर गएका ट्रकहरु ठाउँमा पुग्न सकेका छैनन । त्यो दृष्य तपाईँहरुले पनि देखिसक्नु भएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘सामान्य अवस्थामा दैनिक १ सय ५० ट्रक पुग्ने साइटमा अहिले बढीमा ५० वटा मात्र पुग्ने गरेका छन् । यी ट्रकले लगेको फोहोर पनि भ्याली १ को क्षमता बढाएर व्यवस्थापन हुँदै आएको छ । यही कारण सहरभित्रको नियमित फोहोर उठाउन थप समस्या भएको छ । फोहोर व्यवस्थापन गर्ने जिम्मेवारीबाट काठमाडौँ महानगपालिका एक रति पनि पछि हटेको छैन ।’
सिसडोल ल्याण्डफिल्ड साइटका साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठ २०६२ भदौ २२ गतेदेखि केही वर्षका लागि बनाइएको अस्थायी ल्यान्डफिल साइटमा अहिलेसम्म फाहोर व्यवस्थापन गर्दा कठिनाइ भएको बताउनुभयो ।
१६ वर्षदेखि ओखरपौवा, आलेटार र सिसडोलमा फोहोर व्यवस्थापन
बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी—कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यो काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले पु¥याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्याङ्क हो । यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन । १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५ सय १६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १ सय ३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पु¥याउने गरिएको छ ।

Loading...