काठमाडौँ महानगमा परम्परागत शैलीमा ९ वटा वडा भवन निर्माण प्रक्रियामा, ६ वटाको उद्घाटन, १ वटाको शिलान्यास हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–१६ कार्यालय भवन शिलान्यास गर्नुभएको छ । उक्त भवनको शिलान्यासपछि आज सम्वोधन गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको जानकारी दिनुभयो । ‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौँ,’ शाक्यले भन्नुभयो, ‘वडा–१६ को भवनको आज शिलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन । तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् । प्रमुख शाक्यले वडा–१६ को वडा भवन शिलान्यास घोषणा अनुसारकै कार्य भएको भन्दै यस अघि वडा–३, ४, ९, १४, १८, २६ लगायतका वडा कार्यालयका भवनबाट सेवा सुरु भैरहेको जानकारी दिनुभयो ।

केही दिन अघि मात्रै मेयर शाक्यकै वडा–२१ को पनि वडा भवनको शिलान्यास गरिएको थियो । ‘केही कार्यालय भवनको निर्माण कार्य जारी छ । केही वडा कार्यालयको खरिद प्रक्रिया अघि बढेको छ,’ उहाँले भन्नुभयो, ‘वडा–१२ को पनि हामी केही दिनमै शिलान्यास गर्दै छौँ ।’ उहाँले केही वडा कार्यालय भवन भने कानुनी र प्राविधिक समस्याका कारण प्रक्रिया अघि बढ्न नसकेको जानकारी दिनुभयो । उहाँले मुद्धा परेका कारण महानगरपालिकाको केन्द्रीय कार्यालय भवन अहिलेसम्म निर्माण गर्न नसकेको पनि गुनासो गर्नुभयो । सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण हुने पनि प्रमुख शाक्यले जानकारी दिनुभयो । ‘हामीले जिम्मेवारी सम्हाल्नु अघिसम्म अधिकांश वडा कार्यालय भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने गरेको थियो,’ उहाँले भन्नुभयो, ‘अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजान्छौँ । वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेका छौँ । हामीले निर्माण गरेका र निर्माण भैरहेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ ।’ कार्यक्रममा अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसादओझाले, शासन व्यवस्थापछिको पालिकाहरुको अवस्थाका विषयमा चर्चा गर्दै, अन्तरपालिका समन्वय र सहकार्यले काठमाडौँ महानगर र अमरगढी नगरबिच भगिनी सम्बन्ध स्थापना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, सुविधा सम्पन्न वडाबाट गुणस्तरीय सेवा प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले स्थानीय शासन चलाउन जग बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । ‘हामीले कार्यालय भवन निर्माण गरेर महानगरको सेवा व्यवस्थापनको जग मजवुत बनाउने प्रयास गरेका हौँ,’ खड्गी श्रेष्ठले भन्नुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि सबै वडाका वडा भवन जति सक्दो छिटो सम्पन्न गर्ने गरी अघि बढेको जानकारी दिनुभयो । वडाध्यक्ष मुकुन्द रिजालले वडा कार्यालय बनाउने महानगरको निर्णय हरेक सेवाग्राहीको सुविधासँग जोडिएको विषय भएको भन्दै वडा कार्यालय बन्नुलाई सबैले गौरवका रुपमा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यालयको डिजाइन गर्दा आजभन्दा १० वर्ष पछिको अवस्थालाई आकलन गरिएको काठमाडौँ महानगरपालिका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । ‘हामी वडाको सेवा कुनै पनि कारणले नरोकिने संरचना बनाउँदैछौँ,’ इञ्जिनियर श्रेष्ठले भन्नुभयो, ‘बेसमेन्टसहित भवन १० हजार ७०३ बर्गफुट क्षेत्रफलको हुनेछ । भवनको भूमिगत तलामा १० वटा चारपाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता हुनेछ । ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टसहितको भवन अपाङ्गमैत्री हुनेछ ।’ उहाँका अनुसार भवन बाहिरबाट हेर्दा नेपाली परम्परागत शैलीको हुनेछ भने भित्र आधुनिक सुविधा हुनेछन् । भवनको जमिन तलामा सहरी स्वास्थ्य क्लिनिक र दर्ता चलानी कक्ष हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सदस्यहरु र वडा सचिवको कक्ष रहनेछ । दोस्रो तलामा प्रशासनिक कक्ष तेस्रो तलामा प्रमुखको बैठक र कार्यालय कोठा हुनेछ । भवनमा सुविधा सम्पन्न बैठक कक्ष हुनेछ । १ रोपनी ४ आना २ पैसा जमिनमा निर्माण हुने भवनको बाहिरी भागमा मोटरसाइकल पार्किङ् गर्ने ठाउँ र हरियाली हुनेछ । महानगरपालिकाले दिएको जानकारी अनुसार वडा–९ र १८ को भवन उद्घाटन भै सेवा प्रवाह सुरु भैसकेको छ । ‘वडा–३, ४ र २६ को पनि उद्घाटन भैसकेको छ,’ शाक्यले भन्नुभयो, ‘वडा– १४ को गृह प्रवेश भैसकेको छ ।’ काठमाडौँ महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले दिएको जानकारी अनुसार वडा–२, ६, १२, २०, २१, २२, २९ र ३१ निर्माण प्रक्रियामा छन्,’ श्रेष्ठले भन्नुभयो, ‘वडा–१२ को पनि प्रक्रिया अघि बढेका छ । अन्य वडा भवनको स्तरोन्नती गर्नेलगायतका प्रक्रिया अघि बढेका छन् ।’

Loading...