काठमाडौँ महानगरले सार्वजनिक जग्गा संरक्षण र हरियाली वृद्धि गर्न वृक्षा रोपन गर्दै

साउन २,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि वृक्षारोपण थालेको छ । प्रमुख विद्यासुन्दर शाक्यले वडा १२ ह्युमत विष्णुमती नदी किनाराबाट विरुवा रोप्ने कामको थालनी थाल्नुभएको हो । उहाँले चाँपको विरुवा रोप्नुभएको थियो । वातावरण विभागले बर्खायाममा सार्दा छिट्टै हुर्कने जातका विरुवा रोप्न थालेको हो ।
विरुवा रोपिसकेपछि सहरी सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि आफ्ना योजना र सम्पन्न कामका बारेमा प्रमुख शाक्यले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘परिवर्तन धेरै भएको छ । आवश्यकता पूरा गर्न अझै पनि काम गर्नुपर्नेछ ।’
‘सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने हाम्रो नीति हो । नीतिअनुरुप सार्वजनिक निकाय र समुदायसँगको सहकार्यमा विरुवा रोप्ने काम भएको छ । साना विरुवा हुर्काउन कठिन हुने भएकोले कम्तीमा ५ फिटभन्दा अग्ला विरुवा रोप्ने मापदण्ड बनाएर नै हामीले काम गरेका छौँ ।’ हरियालीसँगै सहरी सुन्दरता बढाउन नियमित र विशेष सरसफाइ गर्ने, दृश्य प्रदुषण गराउने बस्तुको प्रदर्शन रोक्न तथा भएकालाई हटाउने काम भइरहेको छ ।
महानगरले वडाहरुसँग समन्वय गरेर यो बर्खामा २ हजार ५ बढी विरुवा रोप्ने योजना बनाएको छ । वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठकाअनुसार आज अभियान थाल्दै शिरिष, कपुर, कल्की र चाँप जातका करीव १३० विरुवा रोपिए ।
विरुवा रोप्नु जत्तिकै महत्वपूर्ण काम यसको संरक्षण गर्नु पनि हो । यसका लागि बारबेर, मल र पानीको उचित प्रबन्ध गर्नुपर्छ । श्रेष्ठ भन्नुहुन्छ, यसका वडा र समुदायसँग समन्वय गरेर कार्यक्रम सफल बनाउँछौँ ।
आजको कार्यक्रममा वडाध्यक्ष, वडा सदस्य, महानगरका विभागीय प्रमुखहरु तथा स्थानीयहरुले विरुवा रोप्नुभएको थियो ।

Loading...