बाढीग्रस्त नगर तथा गाउपालिकालाइ काठमाडौँ महानगरपालिकाबाट ३ करोड आर्थिक सहयोग हस्तान्तरण

 

मेचलम्ची । सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि रु ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगि ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख आर्थिक सहयोग गर्ने घोषणा यस अघि नै प्रमुख शाक्यले गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकन समेत गरेको छ ।
बाढीग्रस्त क्षेत्रको अवलोकन गर्ने र सहयोग रकम पनि हस्तान्तरण गर्ने योजनासहित मेलम्ची आइपुग्नु भएका शाक्यले सहयोग रकम हस्तान्तरणपछि सम्वोधन गर्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताउनुभयो ।
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौँ महानगरपालिकाको यो सहयोग अतुलनीय भएको भन्दै प्रसंशा गर्नुभयो । ‘मेलम्चीवासीलाई पीडा पर्दा काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएको छ । मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊजा प्राप्त भएको छ ।’ उहाँले बाढीग्रस्त क्षेत्रको समस्या समधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पनि काठमाडैँ महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गर्नुभयो । मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो । उक्त नगरलाई यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु. १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

Loading...