सिन्धुपाल्चोकका बाढीपीडितलाई सभामुख सापकोटाको पहलमा खाद्यान्न सहयोग

 

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको बाढीग्रस्त मेलम्ची क्षेत्रको निरिक्षण पछि खाद्यान्न सहयोग गर्नु भएको छ।
शनिबार साँझदेखि मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिबारे स्थलमार्गबाट इन्द्रावती करिडोरको अवलोकन गर्दै सभामुख सापकोटाको पहलमा सिल्क ग्रूपले २०० बोरा चामल सहयोग गरेको हो ।

यस सम्बन्धमा मेलम्ची नगरपालिका  नगर प्रमुख डम्बर अर्यालले अहिले सम्मका उद्धार, राहत र भए गरेका कामबारे संक्षिप्त जानकारी दिनु भयो ।
मेलम्ची नगरपालिकामा भएको छलफलमा सभामुख सापकोटाले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत र सडकहरु तत्काल सुचारु गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले उद्धार कार्य र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिंदै आफ्नो तर्फबाट आवश्यक पहलकदमी लिने प्रतिवद्धता व्यक्त गर्नु भयो । सभामुख सापकोटाले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर उद्धार, राहत, विस्थापितहरुको अस्थायी बसोवास एवं पुनर्स्थापनाको काम अघि बढाउन सबैमा अपिल गर्नु भयो ।
सभामुख सापकोटाको प्रमुख आतिथ्यतामा नगरपालिकामा भएको सर्बपक्षिय छलफलबाट बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायतका कार्य गर्न जिसस प्रमुख कृष्ण गोपाल तामाङको संयोजकत्वमा ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको छ ।
बाढीबाट विस्थापितहरुलाई तत्काल राहतका लागि सभामुख सापकोटाको पहलमा उपलब्ध भएका खाद्यान्ह्लगायतका राहत सामग्री उहाँको उपस्थितिमा आजै नवगठित ‘इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ लाई हस्तारन्तरण गरिएको छ । समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको छ ।

Loading...