ललितपुर महानगरले कोभिडका कारण निधन भएकाको परिवारलाई १ लाख सहयोग गर्ने

 

ललितपुर महानगरपालिकाले कोभिड १९ संक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।

महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज पत्रकार सम्मेलन गरि ललितपुर महानगरपालिका भित्रका स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड -१९ संक्रमित भइ उपचारको क्रममा निधन भएका व्यक्तिका परिवारलाई महानगरले प्रति मृतक १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताएका हुन ।

मेयर महर्जनले कोभिड़को आइसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई जनही ५० हजार र अस्पतालमा उपचार गराई निको हुने प्रति ब्यक्ति २५ हजार रुपैयाँ प्रदान गरिने समेत जानकारी दिए ।

महानगरले प्रदान गरेको यस सहयोग प्राप्त गर्न स्थानीय वडा कार्यालयको सिफारिसपत्र लगायत आवश्यक कागजपत्र सहित महानगरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले महानगका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिदै आएको समेत जानकारी गराए । वडा नं. २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुनर्स्थापना गृहमा एचडीयूसहितको ५० शय्याको आइसोलेसन सेन्टर र वडा नं-४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा १० शय्याको आइसोलेसन सेन्टर संचालन गरिएको उनले जनाएका छन् ।

उनले मनोसामाजिक परामर्श, पौष्टिक र सन्तुलित खानाको निःशुल्क व्यवस्था र अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गर्दै आएको ननस्टप खबरलाइ जानकारी दिए ।

Loading...