चुनाव अवधिमा कर्मचारीकाे भत्तामा मात्रै ८ अर्ब स्वाहा

काठमाडाैं, ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ ।

मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामति कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब ५ लाख जनशक्ति खटिने निर्वाचन आयोगले जनाएको छ ।

यो जनशक्तिका लगि सरकारले निर्वाचनका लागि विनियोजन गरेको कुल बजेटको आधाभन्दा बढी दैनिक भत्ता र मसलन्दमा खर्च भएको हो । अर्थ मन्त्रालयले निर्वाचनका लागि अहिलेसम्म १५ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ ।

निर्वाचनमा कर्मचारीको हकमा मासिक दर्जा र तलबमानका आधारमा १२१ प्रतिशत भत्ता, निर्वाचनकै क्रममा मृत्यु भएमा बिमाबापत २० लाख रुपैयाँ र बिरामी भए उपचारमा लाग्ने खर्च सरकारले नै बेहोर्ने छ ।

कर्मचारीले निर्वाचनमा दैनिक ३० करोडभन्दा बढी रकम भत्ताबापत पाउँछन् । यसबाहेक सरकारी दर्जाअनुसार कर्मचारीले अतिरिक्त सुविधासमेत पाउनेछन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सरकारले निर्धारण गरेका नीतिनियम र परिधिभित्र रहेर कर्मचारीलाई निर्वाचन अवधिभर भत्ता लगायतका सेवासुविधा उपलब्ध गराइने बताए ।

Loading...