कोविड उपचारका लागि शिक्षण अस्पताललाई महानगरबाट १० वटा भेन्टिलेटर सहयोग

 

काठमाडौँ । त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई काठमाडौँ महानगरपालिकाले १० थान भेन्टलेटर प्रदान गरेको छ । कोविड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो । अस्पताल पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज अस्पतालका निर्देशक प्रा. डा. दिनेश काफ्लेलाई सामाग्री हस्तान्तरण गर्नुभएको थियोे । त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह शाह, वडा ३ का अध्यक्ष दिपक के. सी. लगायत अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

हस्तान्तरण गरिएको भेन्टिलेटरको मुल्य अभिवृद्धि कर र भन्सारसहित भेन्टलेटरको मुल्य २ करोड ९ लाख रुपैयाँ हो ।

मेयर शाक्यले समुदाय स्तरमा संक्रमण घटाउने र उपचारका लागि अस्पताल जानेका लागि सुविधा बढाउने कामलाई सँगै अघि बढाउँदै लगेको बताउनुभयो । ‘हामी सरकारी र सामुदायिक अस्पतालमा सरकारले गरेको काममा नपुगेको क्षेत्रमा सहयोग उपलब्ध गराउँछौँ । त्रि. वि. शिक्षण अस्पतालसँगै अन्य अस्पतालबाट पनि प्रस्ताव आएका छन् । हाम्रो सहयोग अस्पतालको क्षमता बढाउनका लागि हुनेछ ।’ प्रमुख शाक्यले बताउनु भयो।

त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले, महानगरले अहिले पूर्वाधार निर्माणका काममाभन्दा महामारी नियन्त्रणमा केन्द्रीत गरेको बताउनुभयो । ‘पहिले जीवनको सुरक्षा त्यसपछि विकासका योजनालाइ प्राथमिकता दिइने उनको भनाइ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. काफ्लले महानगरका प्रमुख र उपप्रमुख अस्पतालमै आएर सहयोग गरेपछि आफूहरु महामारी विरुद्ध लड्न थप उत्साहित भएको बताउनुभयो । अस्पतालमा अहिले दैनिक ५ हजार लिटर अक्सिजन खपत भइरहेको छ । जसमध्ये २ हजार लिटर आन्तरिक प्रणाली र ३ हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । यसको माग अझै बढ्दै गएको छ । महानगरको सहयोग यहाँ पनि आवश्यक रहेको कार्यकारी निर्देशक काफ्लेले भनाइ राख्नु भयो ।

 

Loading...