देउवाले अस्वीकार गरे विश्वासको मत दिन ओलीले गरेको आग्रह

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिन नेपाली कांग्रेसलाई गरेको आग्रह सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।

बुधबार देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा प्रधानमन्त्री ओलीले गरेको सो आग्रह सभापति देउवाले अस्वीकार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि एमालेका नेतासहित सभापति देउवालाई भेट्न ओली बुढानीलकण्ठ पुगेका थिए ।

कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले आज प्रधानमन्त्री ओली सहितका नेताहरु विश्वासको मत दिन सहयोग मागेको तर कांग्रेसले सहयोग गर्न नसक्ने स्पष्ट पारेको जानकारी दिए ।

उनले भने,‘आज प्रधानमन्त्रीसहितको मुलभुत रुपमा विश्वासको मत मैले लिइरहेको छु । कांग्रेसको सहयोगको अपेक्षा गरेको छु भनेर भन्नुभयो । हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं ।’

प्रधानमन्त्रीसँगको छलफलका क्रममा कोरोना महामारीको विषयमा समेत ध्यानाकर्षण गराएको महतले जानकारी दिए । उनले भने,‘कोभिडको महामारी देशमा व्याप्त छ । जनता कठिन अवस्थामा छन् । नागरिकले उपचार नपाएर पीडामा छन् । यसबाट मुक्त गर्नका लागि हरसम्भव सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौं ।’

छलफलका क्रममा सरकारले जारी गरेको अध्यादेश गलत रहेको समेत कांग्रेस सभापति शेरबहादुर देउवाले भनेको डाक्टर महतले जानकारी दिए ।

‘लोकतान्त्रिक मुल्य मान्यताप्रति आउने कुरामा प्रतिवद्ध हो भने व्यवहारमा देखिनुपर्‍यो । विषयहरुमा सहकार्य गर्न सक्छौं सत्तासहकार्यका लागि अहिले अवस्था छैन भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं,’ नेता महतले भने ।

बैठकमा भएको छलफलका बारेमा एमाले नेताहरुले कुनै प्रतिक्रिया दिन मानेका छैनन । 

Loading...